चन्द्रागिरि नगर क्षेत्रमा निरन्तर झरी, दिउँसो पनि वर्षा जारी रहने पूर्वानुमान

Thankot Times

थानकोट ।

आज देशभर सामान्यदेखि पूर्ण बदली रहने र अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ ।

विशेषगरी पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको अनुमान रहेको छ ।

महाशाखाका अनुसार हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षा तथा हिमपात हुन सक्छ । बागमती र गण्डकी प्रदेशका तराईका धेरै स्थानमा तथा मधेश, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ । साथै, गण्डकी र बागमती प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

रातिको समयमा पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्र र मधेश प्रदेशका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका केही स्थानमा पनि वर्षा हुने अनुमान गरिएको छ ।

राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्र, साथै लुम्बिनी प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने भएकाले नदी–नाला आसपास, पहिरोको जोखिम भएका क्षेत्र तथा यात्रा गर्दा विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *