यस वर्ष दशैंको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १० बजेर २६ मिनेटमा

Thankot Times

थानकोट ।

यस वर्षको बडादसैँमा विजया दशमीको टीकाको उत्तम साइत कात्तिक ४ गते बुधबार बिहान १० बजेर २६ मिनेटमा रहेको छ।

नेपाल पञ्चांग निर्णायक विकास समितिले सार्वजनिक गरेको दशैंको साइतअनुसार विजया दशमीका दिन बिहान ८:४९ बजे देवी विसर्जन गरी बिहान १०:२६ बजे टीका लगाउन उत्तम हुने जनाइएको छ।

समितिका अनुसार टीका लगाउँदा टीका लगाइ माग्ने व्यक्ति पश्चिम दिशातर्फ फर्किनुपर्नेछ।

असोज २५ गते घटस्थापना
यस वर्ष असोज २५ गते आइतबार नवरात्रारम्भ तथा घटस्थापना परेको छ।

घटस्थापनाको शुभसाइत बिहान ११:४७ बजे निर्धारण गरिएको छ।

सो दिन चित्रा नक्षत्र र वैधृति योगसमेत परेकाले घटस्थापनाअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत हुने समितिले जनाएको छ। असोज २६ गते सोमबार बिहान १०:०७ बजे झण्डा फेर्ने शुभसाइत छ। झण्डा फेर्दा पश्चिम मोहडा गर्नुपर्ने जनाइएको छ। असोज २९ गते बिहीबार श्रीपचली भैरव यात्रा परेको छ।

असोज ३१ गते फूलपाती
असोज ३१ गते शनिबार फूलपाती परेको छ। त्यस दिन श्री तुलजाभवानी यात्राको शुभसाइत बिहान ७:३७ बजे र स्थिरासनको साइत बिहान १०:३९ बजे रहेको छ। कात्तिक १ गते आइतबार महाअष्टमी तथा कालरात्रि र कात्तिक ३ गते मंगलबार महानवमी परेको छ।

कात्तिक ४ गते विजया दशमी
कात्तिक ४ गते बुधबार विजया दशमी परेको छ। त्यस दिन बिहान ८:४९ बजे देवी विसर्जन र बिहान १०:२६ बजे टीका लगाउने उत्तम साइत रहेको समितिले जनाएको छ। सोही दिन श्री तुलजाभवानी यात्राको शुभसाइत बिहान १०:५१ बजे तथा स्थिरासनको साइत बिहान ११:५२ बजे रहेको छ। खड्गयात्रासमेत विजया दशमीकै दिन हुनेछ।

दशैंको अन्तिम दिन कात्तिक ८ गते आइतबार अखिलबलिपूर्ति तथा कोजाग्रत पूजा गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ