दशैं बिदामा पनि नेपाल आयल निगमका डिपोहरू खुला रहने

Thankot Times

थानकोट ।

नेपाल आयल निगम लिमिटेडले विजयादशमीको सार्वजनिक बिदाका दिनहरूमा समेत देशभर पेट्रोलियम पदार्थको सहज बिक्रीवितरणको प्रबन्ध मिलाएको छ ।

चाडपर्वको अवसरमा उपभोक्ताहरूलाई इन्धनको अभाव हुन नदिन निगमले स्थानीय आवश्यकताका आधारमा आफ्ना प्रादेशिक कार्यालय, शाखा तथा इन्धन डिपोहरू तालिका निर्धारण गरी खुला राख्ने भएको हो।

निगमद्वारा सार्वजनिक गरिएको तालिकाअनुसार कोशी प्रादेशिक कार्यालय विराटनगर कात्तिक २, ६ र ८ गते खुला रहनेछ भने मधेश प्रादेशिक कार्यालय अमलेखगञ्ज, लुम्बिनी प्रादेशिक कार्यालय भैरहवा तथा वीरगञ्ज शाखा कार्यालय कात्तिक १, २, ६ र ८ गते सञ्चालन हुनेछन्।

यस्तै, वाग्मती प्रादेशिक कार्यालय थानकोट कात्तिक १, २, ६ र ७ गते तथा गण्डकी प्रादेशिक कार्यालय पोखरा कात्तिक १, २ र ६ गते खुला रहने व्यवस्था मिलाइएको छ ।

कर्णाली प्रादेशिक कार्यालय सुर्खेत असोज ३० तथा कात्तिक २ र ७ गते सञ्चालन हुनेछ।

सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढी, नेपालगञ्ज इन्धन डिपो तथा दाङ इन्धन डिपो कात्तिक २ र ६ गते खुला रहनेछन्। यसैगरी, जनकपुर इन्धन डिपो असोज ३१ तथा कात्तिक २ र ६ गते, झापाको चारआली शाखा कार्यालय असोज ३१ तथा कात्तिक १, ६ र ८ गते एवं दिपायल शाखा कार्यालय कात्तिक १ र ६ गते खुला रहनेछन्।

बिदाको समयमा पेट्रोलियम पदार्थको आपूर्ति तथा उपलब्धतामा कुनै समस्या देखिएमा सहजीकरणका लागि निगमले केन्द्रीय कार्यालयका अधिकारीहरूसँग सम्पर्क गर्न अनुरोध गरेको छ।

जसअनुसार पेट्रोल तथा डिजेलका लागि नवराज पोखरेल (९८४१४८०२०७) र एलपी ग्यास तथा हवाई इन्धनका लागि सञ्जीव सङ्ग्रौला (९८४१४३३६०४) लाई सम्पर्क गर्न सकिनेछ। साथै, सेवाग्राहीको सहजताका लागि निगमले प्रत्येक डिपो तथा शाखा कार्यालयहरूमा समेत सम्पर्क व्यक्ति तोकेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ