नेपाल संवत् ११४७ र म्हः पूजाको अवसरमा प्रधानमन्त्री बालेन शाहद्वारा शुभकामना व्यक्त

Thankot Times

थानकोट ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले नेपाल संवत् ११४७ (न्हूदँया भिन्तुना) तथा म्हः पूजाको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाई शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री शाहले यस अवसरमा आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका हुन् ।

उनले राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त बनाएर सुरु गरेको नेपाल संवत् चन्द्रमामा आधारित मौलिक समयचक्र र नेपाली पहिचान भएको उल्लेख गरेका छन् ।

त्यसैगरी, नेवार समुदायले हर्षोल्लासका साथ मनाउने म्हः पूजाको सांस्कृतिक तथा आध्यात्मिक महत्त्वबारे चर्चा गर्दै उनले ‘म्ह’ अर्थात् आफ्नै शरीर र शरीरभित्रको चेतनालाई साक्षी राखेर आफैँले आफैँलाई पूजा गर्ने परम्पराले आत्मशुद्धि र चेतनाको बोध गराउने बताएका छन् ।

म्हः पूजाले नेवार समुदायभित्र आपसी सद्भाव, आत्मबल र पुर्ख्यौली संस्कृतिको संरक्षण गर्दै जातीय एकतालाई थप प्रगाढ बनाउने उनको भनाइ छ ।

प्रधानमन्त्री शाहले यसै अवसरमा मनाइने गोवर्धन पूजा तथा हली तिहारको महत्त्व पनि स्मरण गरेका छन् । भगवान् श्रीकृष्णले गोवर्धन पर्वत उठाएर द्वारिकावासीलाई बचाउनुभएको पौराणिक मान्यतासँग जोडिएको यस पर्वमा कृषिकर्मका सहयात्री गोरुको पूजा गर्नुका साथै हलो, फालीलगायत कृषि औजारहरूको पूजा गर्ने परम्परा रहेको उनले उल्लेख गरेका छन् ।

उनले तिहारका अवसरमा गुञ्जिने भैलो र देउसीका भाकाले छरछिमेकमा आत्मीयता, सद्भाव र सामाजिक सम्बन्धलाई थप मजबुत बनाउने बताएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *