टाइमको प्रभावशाली व्यक्तित्वको सूचीमा परेका अर्थमन्त्री वाग्लेलाई रास्वपाले दियाे बधाई
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बधाई दिएको छ ।
अमेरिकी पत्रिका ‘टाइम’ले जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तित्वको सूचीमा वाग्लेलाई समेटेपछि रास्वपाले बधाई दिएको हो ।
रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले विज्ञप्ति जारी गर्दै वाग्लेलाई बधाई दिएका हुन् । विज्ञप्तिमा रसुवा र भोटेकोसी बाढीपछि जलवायु न्यायका लागि विश्व मञ्चमा वाग्लेले गर्नुभएको पैरवी, जलवायु वित्त परिचालनका लागि पहल तथा स्रोत व्यवस्थापन र अन्तर्राष्ट्रिय प्रणालीगत सुधारका क्षेत्रमा उनको नेतृत्व र अग्रसरता नेपालको लागि उल्लेखनीय रहेको जनाइएको छ ।
‘हिमाली तथा पर्वतीय क्षेत्रको जोखिम, जलवायुजन्य विपत् र त्यसबाट प्रभावित समुदायका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्याय, जलवायु वित्त तथा हानि–नोक्सानीको न्यायोचित सम्बोधनका लागि उहाँले गर्नुभएको पैरवीले नेपालको अवस्थाका बारेमा जानकारी दिन तथा नेपालको आवाज विश्वसामु पुर्याउन योगदान गरेको छ’, विज्ञप्तिमा उल्लेख छ ।
रास्वपाले वाग्लेको प्रयासको सम्मान मात्र नभई जलवायु संकटले प्रत्यक्ष असर पारिरहेका नेपालजस्ता देश र समुदायका सरोकारप्रति विश्वको ध्यानाकर्षण भएको जनाएको छ ।











