मच्छेगाउँमा हर्षोल्लासपूर्वक मनाइयो नेपाल संवत् ११४७, अर्को वर्ष मातातिर्थस्थित ल्होंखा नेवाः खलको पालो

Thankot Times

थानकोट ।

नेपाल संवत् ११४७ आज देशभर विभित्र कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत् मनाउनुका साथै म्हः (आत्म) पूजा पनि गर्दैछन् ।

नेपाल संवत्लाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउँदै आएका छन् ।

चन्द्रागिरि नगरपालिका-०९ मच्छेगाउँस्थति टाैखेलमा नेवार समुदायका मानिसहरू भेला भएर बाजागाजासहित नेपाल संवत् मनाएका छन् ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत् सुरु गराएका थिए । नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत् को मान्यता पाएको थियो ।

लिच्छविकालीन राजा राघवदेवको शासनकालमा सुरु भएको नेपाल संवत् नेपालकै मौलिक संवत् हो ।

लिच्छविकालअघि शक संवत् प्रचलनमा रहेको इतिहासमा उल्लेख छ । नेपालको नामबाट नामकरण गरिएको यस संवत्लाई राष्ट्रिय मान्यता दिलाउन विसं २००७ मा प्रजातन्त्र स्थापना भएदेखि नै अभियान सञ्चालन हुँदै आएको छ ।

काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे र दोलखाको भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेष रूपमा यो पर्व मनाउने गरिन्छ ।

चन्द्रागिरिका विभिन्न वडाका गुठीहरूले वर्षेनी पालैपालो नेपाल संवत् समारोह आयोजना गर्ने परम्परा अनुसार यसवर्ष मच्छेगाउँस्थित तापख्य नेवा पुचःले यसवर्ष चन्द्रागिरिमा भिन्तुना कार्यक्रम व्यवस्थापन गरेको छ ।

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, नगरप्रमुख घनश्याम गिरी, उपप्रमुख बसन्ती श्रेष्ठ लगायतको उपस्थितिमा टाैखेलमा आयोजित शुभकामना सभा तथा मोटरसाइकल र्यालीमा चन्द्रागिरि नगरका विभिन्न वडाका नेवाः गुठीहरूका सदस्यहरूको बाक्लो उपस्थिति रहेको छ ।

आज साँझ मच्छेगाँउस्थित सभा स्थलबाट राष्ट्रिय विभूति शंखध्वर साख्वाको अर्धकदको प्रतिमा मातातिर्थस्थित ल्होखा नेवाः खलका प्रतिनिधिलाई हस्तान्तरण गरेसँगै यसवर्षको नयाँ वर्षको कार्यक्रम सम्पन्न हुनेछ । मातातिर्थस्थित ल्होखा (लंकोट) नेवाः खलका प्रतिनिधिहरू बाजागाजासहित मच्छेगाउँ पुगेर साख्वाको अर्धकदको प्रतिमा बुझेर लिनेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *