अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै ‘सझुका अरख’ सम्पन्न

Thankot Times

थानकोट ।

लोकआस्थाको महापर्व छठको ‘सझिया अरख’ आज साँझ सम्पन्न गरिएको छ ।

मधेशका महोत्तरीसहितका मिथिला क्षेत्रमा आज कार्तिक शुक्ल षष्ठी तिथिको निराहार उपवास गरेका व्रतालुले अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिएसँगै ‘सझिया अरख’ विधि सम्पन्न भएको हो ।

नदी, तलाउ र कुण्डसहितका जलाशयमा निर्मित मनोरम घाटमा व्रतालुले आज साँझ अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिएका हुन् । सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ ५:१० बजेको समयमा सूर्यास्त भएको छ । सूर्यास्तको बेला पारेर सूर्यदेव र छठीदेवीको महिमागान गरिएका मंगलगानका बीच पहिलो अर्घ्यको विधि सम्पन्न भएको हो ।

मिथिलामा चाडपर्वबारे निर्णय लिइने मिथिला र विद्यापति पञ्चाङ्गअनुसार अर्घ्यको समय निर्धारण गरिन्छ । आजको ‘सझिया अरख’ को समय यसैअनुसार निर्धारण भएको मैथिल कर्मकाण्डका ज्ञाता बर्दिबास–२ का बासिन्दा पण्डित दिनेशकुमार झाले बताए ।

कार्तिक शुक्ल षष्ठी तिथिमा भगवान् सूर्य र देवी षष्ठीको उपासना गरिने यो पर्वमा व्रतालुले पहिलो अर्घ्य अस्ताचलगामी (अस्ताउँदो) सूर्यलाई दिने परम्परा छ । अर्घ्य दिन एक घडीपूर्वदेखि जलाशयमा कम्मरसम्मको पानीमा उभिएर प्रार्थना गर्दै व्रतालुले सूर्यास्त कुरेका थिए ।

जटासहितको नरिवल, अबिर र अरबा चामलको पिठो हातमा लिएर सूर्यदर्शन गर्दै अर्घ्य दिइन्छ । व्रतालुले यससँगै क्रमशः छठका लागि बनाएका ठकुवा, भुसुवासहित मिष्टान्नका डाली, केरा र अन्य फलफूल सूर्यलाई देखाउँछन् ।

कार्तिक शुक्ल चौथीका दिन सुरु भएको छठ उत्सवमा यसअघि व्रतालुले पहिलो दिन चौथी तिथिमा ‘नहाय–खाय’ र दोस्रो दिन पञ्चमी तिथिमा ‘खरना’ सम्पन्न गरिसकेका छन् । खरनाका दिन मध्यरातपूर्व सख्खर, दूध र अरबा चामलको खिर खाएर व्रत प्रारम्भ गरेका व्रतालुले आज साँझ अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिएका हुन् । मिथिलामा यस दिनलाई ‘सझियाघाट’ पनि भनिन्छ ।

अब व्रतालुले भोलि सप्तमी तिथिका बिहान उदाउँदो सूर्यलाई दोस्रो अर्घ्य दिएर पर्व सम्पन्न गर्नेछन् । मिथिलामा भोलि सोमबार बिहान ६:२६ बजे सूर्योदय हुने पञ्चाङ्गमा उल्लेख छ । सूर्योदयको यो समयमा पनि व्रतालु एक घडी (साढे दुई घण्टा) पहिले पानीमा पसेर सूर्यलाई चाँडै देखिन प्रार्थना गर्छन् । बिहानको अर्घ्यसँगै महापर्व छठ सम्पन्न हुन्छ ।

बिहानको अर्घ्य दिने दिनलाई ‘भोरका अरख’ वा ‘पारन’ भन्ने चलन रहेको पण्डित झाले जानकारी दिनुभयो । उहाँका अनुसार पर्व सम्पन्न भएसँगै व्रतालु घर फर्केर आशामुखी, दीनदुःखीलाई दान दिएर प्रसाद ग्रहण गर्छन् । त्यसपछि प्रसाद खाने–खुवाउने क्रम सुरु हुन्छ ।

मिथिलामा छठको प्रसाद महिनाभरि छोरीचेली, मित र अन्य इष्टमित्रकहाँ पुर्‍याउने चलन छ । सूर्यदेव र षष्ठीदेवी मिथिलामा इच्छित कामना पूरा गर्ने इष्टदेव तथा देवी मानिन्छन् ।

छठ पर्वका अवसरमा चन्द्रागिरि नगरको मातातिर्थ कुण्ड र तीनथानास्थित बल्खु खोला किनारमा विशेष घाट बनाइएका छन् । जहाँ मिथलाञ्चल थातथलो भइ चन्द्रागिरि कर्मथलो बनाएका हजाराैं मानिसहरू पुगेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *