कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आज वर्षाको सम्भावना

Thankot Times

थानकोट ।

देशका विभिन्न भू–भागमा आज आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान गरिएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागमा सामान्यतया बादल लाग्नेछ । बाँकी हिमाली क्षेत्र, देशका पहाडी भू–भाग तथा मधेश प्रदेशमा आंशिक बदली रहनेछ भने अन्य तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । मधेश र कोशी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा समेत हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।

रातिको समयमा देशका हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

यसैगरी, राति तथा बिहानपख तराईका भू–भाग, उपत्यका र खोँचहरूका थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने महाशाखाले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *