नेपाल प्रिमियर लिग क्रिकेट-२०२६: पहिलो क्वालिफायर आज लुम्बिनी र सुदूरपश्चिमबीच खेल हुने
थानकोट ।
नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पहिलो क्वालिफायर हुँदै छ । समूह चरणको अंक तालिकाको शीर्षस्थानमा रहेका साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच पहिलो क्वालिफायर हुन लागेको हो ।
लुम्बिनी र सुदूरपश्चिमबीचको यो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बेलुकी ५ बजेदेखि सुरु हुनेछ । समूह चरणमा ७ मध्ये एक खेल मात्रै हारेको लुम्बिनी ११ अंकसहित शीर्षस्थानमा तथा ७ मध्ये ५ खेलमा जित हासिल गरेको सुदूरपश्चिम १० अंकसहित शीर्ष दुईमा परेर पहिलो क्वालिफायर खेल्न लागेका हुन् ।
समूह चरणमा लुम्बिनीले सुदूरपश्चिमलाई ७ विकेटले पराजित गरेको थियो । लुम्बिनीको कसिलो बलिङका अगाडि निरीह बनेको सुदूरपश्चिमले समूह चरणको खेलमा मात्रै ८८ रनको लक्ष्य दिएको थियो, जुन लुम्बिनीले ९.५ ओभरमा पूरा गरेको थियो ।
त्यसअघि लुम्बिनी र सुदूरपश्चिमबीच एनपीएल सिजन–२ को फाइनलमा प्रतिस्पर्धा भएको थियो, जहाँ लुम्बिनीले सानदार जित निकाल्दै उपाधि चुमेको थियो । उक्त फाइनल खेलमा सुदूरपश्चिमले दिएको ८५ रनको लक्ष्य ९ ओभरमै पूरा गरेको थियो ।
त्यसैले उत्कृष्ट प्रदर्शनका बाबजुद लुम्बिनीको अगाडि सुदूरपश्चिम निरीह बन्ने गरेको छ । सुदूरपश्चिममाथि जितको शृंखलालाई निरन्तरता दिँदै लुम्बिनी आज फाइनलमा पुग्ने लक्ष्यमा छ ।
एनपीएलको यो सिजनमा अन्य टोलीभन्दा सन्तुलित देखिएको लुम्बिनीलाई उपाधिको मुख्य दाबेदार मानिएको छ । लुम्बिनीले यो खेलका लागि टोलीमा ठूलो परिवर्तन ल्याउने देखिएको छैन ।
त्यस्तै, एनपीएलको जारी सिजनमा सुरुवाती खेलहरूमा कठिनाइ सामना गरे पनि सुदूरपश्चिमले उत्कृष्ट कमब्याक गरेको छ । सुदूरपश्चिमले समूह चरणमा लगातार ४ खेलमा जित हात पारेको छ । ऊ जितको शृंखलालाई निरन्तरता दिनुका साथै लुम्बिनीमाथि बदला लिएर फाइनलमा पुग्ने लक्ष्यमा छ । सुदूरपश्चिमले आजको खेलमा जित हात पारे ऊ लगातार तेस्रोपटक फाइनलमा पुग्नेछ ।
लगातार दुईपटक फाइनलमा हारेर उपाधि चुम्न नसकेको सुदूरपश्चिम यसपटक उपाधि जितेरै छोड्ने लक्ष्यमा देखिएको छ । त्यसैले सुदूरपश्चिमले आफ्नो ब्याटिङ लाइन बलियो बनाउन स्कटल्यान्डका आक्रामक ओपनिङ ब्याटर जर्ज मुन्सीलाई सोमबार मात्रै भित्र्याएको छ ।










