मन्त्रिपरिषद् बैठकमा भएका सात निर्णय सार्वजनिक

Thankot Times

थानकोट ।

मन्त्रिपरिषद्‌ले प्रधानमन्त्री वालेन्द्र शाहको मंसिर ६ र ७ गते हुने भारतको राजकीय भ्रमण स्वीकृत गरेको छ।

शुक्रबार बसेको बैठकले भ्रमणका लागि प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णयसमेत गरेको सञ्चार मन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए।

मन्त्री तिमिल्सिनाले सार्वजनिक गरेका निर्णयअनुसार सरकारले नापजाँच हुन बाँकी सरकारी, सार्वजनिक र सामुदायिक जग्गाको लगत तयार गर्ने भएको छ।

त्यसका लागि देशभर त्यस्ता जग्गाको नापजाँच गर्न मन्त्रिपरिषद्‌ले आदेश जारी गर्ने निर्णय गरेको छ।

भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकको जीवनरक्षा र तत्काल उद्धारका लागि चीन सरकारले उपलब्ध गराउने २० लाख डलर नगद अनुदान पनि सरकारले स्वीकार गर्ने भएको छ।

मन्त्रिपरिषद्‌ले अन्तर्राष्ट्रिय मुद्रा कोषको ‘र्‍यापिड क्रेडिट फैसिलिटी’ अन्तर्गत प्राप्त हुने करिब १० करोड ७० लाख डलर बराबरको निर्ब्याजी सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय पनि गरेको छ।

बैठकले राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना २०२६-२०३०, ऐतिहासिक, पुरातात्त्विक तथा सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी मापदण्ड, २०८३ र राष्ट्रिय झोलुंगे पुल नीति, २०८३ स्वीकृत गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *