विश्व पारा तेक्वान्दोमा दिपेश महतलाई रजत पदक

Thankot Times

थानकोट ।

नेपालका दिपेश महतले दक्षिण कोरियाको मुजुस्थित तेक्वान्दोवनमा आयोजित ११औँ विश्व पारा तेक्वान्दो च्याम्पियनसिप (जी १४)मा रजत पदक जितेका छन्।

पुरुष के-४१ क्याटेगोरीको ५८ केजीमुनि दिपेशले उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलमा टर्कीका कोसे साबितलाई नकआउट १४–४ को आधारमा पराजित गरी फाइनलमा स्थान सुरक्षित गरेका थिए।

स्वर्णपदक भिडन्तमा भने दिपेश रुसका याकुपोभ रिनाटसँग चुके।

नेपालले विश्व पारा तेक्वान्दोमा १२ वर्षपछि यो उपलब्धि हात पारेको हो। यसअघि सन् २०१४ मा रुसमा भएको पाँचौँ विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा यादव कुँवरले रजत पदक जितेका थिए।

दिपेशसहित प्रतियोगितामा नेपालबाट दुई खेलाडी सहभागी छन्। के ४४ को पुरुष ६३ केजीमुनि अमिर भ्लोनले शनिबार इरानका अलिजादेह अरब एविरुद्ध खेल्नेछन्।

नेपाली टोलीको टिम म्यानेजर हेमन्त डाँगी र टिम प्रशिक्षक कविराज नेगी लामा रहेका छन्।

प्रतियोगितामा ६४ राष्ट्रका २४५ खेलाडीको सहभागिता रहेको प्रशिक्षक लामाले जानकारी दिए। उद्घाटन समारोहको मार्चपासमा अमिर भ्लोनले नेपालको झन्डा बोकेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *