अहिलेका घटनाक्रमबाट हामी आत्तिनुपर्दैन: माधवकुमार नेपाल

Thankot Times

थानकोट ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले मुलुकको आन्तरिक राजनीति अनावश्यक दिशामा जान नदिन राजनीतिक दलहरूले भूमिका खेल्नुपर्ने बताएका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित ‘राष्ट्रिय जागरण अभियान’ शुभारम्भ कार्यक्रममा उनले यस्तो बताए । अमेरिकालगायत देशमा हालै सम्पन्न निर्वाचनबाट एउटै शक्ति सधैँ सत्तामा रहन नसक्ने उदाहरण पेस गरेको भन्दै आत्तिन नहुने बताए ।

दलहरू र जनताबीचको दूरी कम गर्न लोकतान्त्रिक शक्तिहरूबीच सहकार्यको आवश्यक रहेको उनको भनाइ छ । मुलुकको आन्तरिक मामिलामा कुनै पनि देशले हस्तक्षेप नगरोस् भन्नका लागि समाजवाद र एक चीन नीतिको पक्षमा आफूहरू रहेको उनले बताए ।

चीनले अंगालेको समाजवाद विश्वकै लागि अध्ययनको महत्त्वपूर्ण विषय भएको उनको भनाइ छ । चीनको समाजवादी व्यवस्था र राज्य सञ्चालनका अनुभव नेपालका लागि पनि उपयोगी हुने उनले बताए । पार्टीलाई संगठनात्मक रूपमा बलियो बनाउन नेता तथा कार्यकर्ताको सक्रियता आवश्यक रहेको उनको भनाइ छ ।

यस्तो छ नेता नेपालको भनाइ :

हामी समाजवादको पक्षमा छौँ, एक चीन नीतिको पक्षमा छौँ । हामी देशको आन्तरिक मामिलामा कुनै पनि देशले हात नहालुन् भन्ने पक्षमा रहेका छौँ । यही क्रममा अहिले चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय बैठकबाट एउटा महत्त्वपूर्ण निर्णय र प्रस्ताव पनि पारित गरेको छ । त्यसकारण चीनको समाजवाद विश्वको निम्ति अहिले अध्ययनको एउटा महत्त्वपूर्ण विषय समेत भएको छ । पार्टीदेखि राज्य सञ्चालनसम्मका चिनियाँ अनुभवहरू हाम्रो लागि पनि काम गर्ने कुरा नै हुन्छन् ।

यो सबै परिप्रेक्ष्यमा विश्वको राजनीति पनि सकारात्मक दिशामा गइराखेको छ भने देशको आन्तरिक राजनीति पनि अनावश्यक गलत दिशामा नजाओस् भन्ने सन्दर्भमा भूमिका खेल्नुपर्ने अवस्था छ । अहिलेका घटनाक्रमबाट हामी आत्तिनुपर्ने केही पनि छैन । मुख्यतः हामी जनतासँग जोडिनुपर्छ र लोकतान्त्रिक शक्तिहरूसँग समेत हातेमालो गर्दै अगाडि बढ्नुपर्छ । मुख्यतः हाम्रो जोड पार्टीलाई संगठनात्मक रूपमा बलियो बनाउने कुरामा केन्द्रित हुने भएको कारणले अहिले सबै नेता तथा कार्यकर्ताको सक्रियताको खाँचो छ ।

यसरी हामी वामपन्थी शक्तिहरूलाई मिलाउनको लागि पनि कोसिस गर्नेछौँ । हामी सबैसँग एकता गर्नेछौँ, तर एकता गर्दा २०७५ साल जेठ ३ गतेको जस्तो नहोस् भन्ने कुरामा पनि विचार पुर्‍याउनेछौँ । पार्टी सञ्चालनको क्रममा रहेका गल्तीहरू सच्याउने काम पनि गर्नेछौँ । न्युज एजेन्सी नेपाल


Leave a Reply

Your email address will not be published. Required fields are marked *