भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो छ: प्रधानमन्त्री वालेन्द्र
थानकोट ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहले समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्ता दिएका छन् ।
संयुक्त पत्रकार सम्मेलनमा उनले यस्तो निम्तो दिएका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै उनले भारतीय लगानीकर्ताहरूलाई नेपालमा स्वागत गर्न आफूहरू तयार रहेको बताए ।
उनले नेपाल–भारतबीच विकासको साझेदारी सुरु भएको पनि बताए ।
पत्रकार सम्मेलनमा बोल्नुअघि प्रधानमन्त्री वालेन्द्र शाह र समकक्षी नरेन्द्र मोदीले अयोध्या–जनकपुर रेलको शुभारम्भ गरेका थिए ।
यससँगै भारतको यूपीस्थित अयोध्याबाट सरयू कमला एक्सप्रेस जनकपुरधामका लागि प्रस्थान गर्नेछ ।
पत्रकार सम्मेलनअघि नेपाल–भारत सम्बन्ध झल्काउने भिडियो सामग्री देखाइएको थियो । मोतीहारी–अमलेखगन्ज पाइपलाइनदेखि नेपालको हाइड्रोपावरमा भारतले गरिरहेका कामहरूबारे भिडियो सामग्रीमा चर्चा गरिएको थियो ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदीसँग आज नयाँ दिल्लीमा उच्चस्तरीय द्विपक्षीय वार्ता गरेका थिए । यसअघि उनले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए ।
प्रधानमन्त्रीको यो भ्रमणमा नेपाली प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, परराष्ट्र सचिव अमृतबहादुर राई, भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेलगायत सहभागी थिए ।
त्यसैगरी, भारतका तर्फबाट विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, राज्यमन्त्री जितिन प्रसाद, प्रधानमन्त्री मोदीका प्रधान सचिवद्वय पीके मिश्रा र शक्तिकान्त दास, विदेश सचिव विक्रम मिस्री, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला र अतिरिक्त सचिव मनु महावरलगायत सहभागी थिए ।










