टी–२० क्रिकेट: भारत र पाकिस्तान पराजित
थानकोट ।
विश्वकप टी-२० क्रिकेटको तयारीका रूपमा हेरिएको अन्तराष्ट्रिय प्रतियोगितामा भारत र पाकिस्तान पराजित भएका छन् ।
मंगलबार राति भारतमा भएको खेलमा घरेलु टोली विरूद्धको पहिलो टी–२० क्रिकेटमा अष्ट्रेलिया विजयी भएको छ । मोहालीमा भएको खेलमा भारत अष्ट्रेलियासँग ४ विकेटले पराजित भयो ।
जितसँगै ३ खेलको टी–२० श्रृंखलामा अष्ट्रेलियाले १–० को अग्रता बनाएको छ । भारतले दिएको २ सय ९ रनको लक्ष्य अष्ट्रेलियाले १९ ओभर २ बलमा ६ विकेट गुमाएर भेट्टायो । अष्ट्रेलियाका क्यामरुन ग्रीनले ६१ रनको अर्धशतकीय पारी खेले । त्यस्तै म्याथ्यु वेडले अविजित ४५ रन बनाए । भारतका अक्षर पटेलले ३ तथा उमेश यादवले २ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर २ सय ८ रन बनाएको थियो । भारतका हार्दिक पाण्डेय र केएल राहुलले अर्घशतकीय पारी खेले । पाण्डेयले अविजित ७१ रन तथा राहुलले ५५ रन जोडे । अष्ट्रेलियाका नाथन एलिसले ३ तथा जोश हाजलउडले २ विकेट लिए । दुई देशबीचको दोस्रो टि–२० पर्सि शुक्रबार र तेस्रो तथा अन्तिम टि–२० आइतबार हुनेछ ।
त्यस्तै, इंग्ल्यान्डले घरेलु टोली पाकिस्तानलाई हराएको छ । कराँचीमा मंगलबार राति भएको खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई ६ विकेटले हराएको हो ।
जितसँगै पाकिस्तान भ्रमणमा रहेको इंग्ल्यान्डले ७ खेलको श्रृंखलामा १–० को अग्रता बनाएको छ । पाकिस्तानले दिएको १ सय ५९ रनको लक्ष्य इंग्ल्यान्डले १९ ओभर २ बलमा ४ विकेट गुमाएर भेट्टायो । इंग्ल्यान्डका एलेक्स हालेसले ५३ रनको अर्धशतकीय पारी खेले । पाकिस्तानका उस्मान कादिरले २ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो ।
पाकिस्तानका मोहमद रिजवानले ६८ रनको अर्धशतकीय पारी खेले । इंग्ल्यान्डका लुक उडले ३ तथा आदील राशिदले २ विकेट लिए । इंग्ल्यान्डले १७ वर्षपछि पाकिस्तानको भ्रमण गरेको हो । इंग्ल्यान्डले पछिल्लो पटक सन् २००५ मा पाकिस्तानको भ्रमण गरेको थियो । यी दुई देशबीचको दोस्रो टि–२० खेल भोलि हुनेछ ।















