काठमाण्डाै १० ख मा रामशरण आलेमगर र रमा आलेमगर आमुनेसामुने !

Thankot Times

थानकोट ।

आसन्न प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन दर्ताका लागि निर्वाचन आयोगले असोज २३ गतेको मिति तोकेको छ । आयोगको कार्यतालिका अनुसार आइतबार सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा कार्यालय समयभित्र आकांक्षीहरूले उम्मेदवारीको मनोनयन दर्ता गरिसक्नुपर्नेछ ।

उम्मेदवारको मनोनयनका लागि समयसीमा नजिक आइरहँदा राजनीतिक दल तथा स्वतन्त्र रूपमा उम्मेदवारहरूको टुंगो लाग्ने, लगाउने क्रम जारी छ । सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेको नेतृत्वको गठबन्धनले कहाँ कसलाई उम्मेदवार बनाउलान भन्नेमा सर्वत्र चासो बढिरहेको छ ।

सत्ता गठबन्धनबाट उपेन्द्र यादव नेतृत्वको जसपा बाहिरिएसँगै लोसपाको इन्ट्रीले नेपाली राजनीतिमा थप तरङ्ग ल्याएको बताइएको छ । जसपाले नेकपा एमालेसँग चुनावी तालमेल गर्ने बारेमा सहमति भइसकेको छ ।

शुक्रबार अबेर सत्ता गठबन्धनले उम्मेदवारको अन्तिम सूची टुंगो लगाएको बताइएको छ, अपवाद बाहेक लगभग सबै स्थानमा उम्मेदवारको टुंगो लागेको बताइएको छ । त्यस्तै नेकपा एमालेसहितको गठबन्धनले पनि उम्मेदवारहरूको अन्तिम टुंगो लगाउने क्रम जारी छ ।

प्राप्त विवरणहरू अनुसार काठमाण्डाै ९ मा नेकपा एमालेले यसअघिका सांसद् कृष्णगोपाल श्रेष्ठलाई नै दोहोर्याउने भएको छ । यस क्षेत्रको प्रदेश ख तर्फ केशव पोखरेल र क तर्फ हरिकृष्ण डंगोलले टिकट पाएका छन् ।

सत्ता गठबन्धनबाट यस क्षेत्र नेकपा माओवादी केन्द्रको भागमा परेको बताइएको छ, यद्यपी उम्मेदवारको बन्ने भन्ने खुलेको छैन् । यस क्षेत्रको प्रदेश तर्फका दुवै स्थानमा नेपाली काँग्रेसले टिकट पाउने बताइएको छ ।

त्यस्तै, काठमाण्डाै १० मा नेकपा एमालेमा सो पार्टीका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई टिकट दिने अन्तिम तयारी भएको बुझिएको छ ।

प्रदेश तर्फ भने क मा शिवभक्ति बलामी र ख मा रामशरण आलेले टिकट पाएको बताइएको छ । यद्यपी यो अन्तिम निष्कर्ष नभएको खबरहरू बाहिरिएका छन् ।

सत्ता गठबन्धनबाट काठमाण्डाै क्षेत्र नं. १० नेपाली काँग्रेसको भागमा परेको बताइएको छ, जहाँ उसका केन्द्रीय सदस्य एवं यसअघिका सांसद् राजेन्द्रकुमार केसी उम्मेदवार बन्ने निश्चित भएको छ ।

शुक्रबार अबेर रातिसम्मको सहमति अनुसार यस क्षेत्रको प्रदेश क तर्फ नेकपा माओवादी केन्द्र तथा प्रदेश ख तर्फ एकीकृत समाजवादीलाई टिकट दिने निष्कर्षमा गठबन्धनका दलहरू पुगेको बताइएको छ । नेकपा माओवादीबाट कसले भोट माग्ने टुंगो नलागेको बताइएको छ भने एकीकृत समाजवादीबाट यसअघि सांसद् रहेकी रमा लेमगरको टिकट सुनिश्चित भएको बताइएको छ।

आसन्न प्रदेश सभा सदस्य निर्वाचनमा काठमाण्डाै क्षेत्र नंं १० को प्रदेश ख तर्फ नेकपा एमालेबाट टिकट पक्कापक्की जस्तै भएका रामशरण आलेमगर तथा सत्ता गठबन्धनको निर्णयअनुसार नेकपा एकीकृत समाजवादीले यस क्षेत्र पाएमा रमा आलेमगरबीचको प्रतिस्पर्धा थप रोचक हुने अकाट्य छ कारण आलेमगर द्वय नाताले काका भतिजी हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *