रूख, हँसिया हताैडा र कलम चिन्हमा भोट माग्दै राजेन्द्रकुमार केसीले ह्याट्रिक गर्लान् ?

Thankot Times

थानकोट । 

आसन्न आम निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवाहरूले आइतबार उम्मेदवारीको मनोनयन पत्र दर्ता गराउनुपर्ने तालिका रहेको छ । संघतर्फ मुलुकका १६५ तथा प्रदेश तर्फ ३३० निर्वाचन क्षेत्रका लागि हुने निर्वाचनमा स्वतन्त्र र राजनीतिक दलहरूले कतै एक्ला एक्लै त कतै गठबन्धन बनाई चुनाव लड्ने तयारी गरिरहेका छन् । 

कूल ७६९०६ जना मतदाता रहेका काठमाण्डाै क्षेत्र नं. १० मा संघतर्फ नेपाली काँग्रेसका राजेन्द्रकुमार केसीले तेश्रो पटक जित हात पार्ने तयारी गरेका छन् । यस क्षेत्रमा चुनाव लड्नका लागि चितवन छाडेका नेकपा एमालेबाट सम्भवत् सो पार्टीका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले टिकट पाउनेछन् ।

यस क्षेत्रमा एमालेले राप्रपासँग तालमेल गर्नेछैन् जसको मतलब राप्रपाका बलराम थापाले एकल रूपमै हलो चिन्हमा मत माग्ने निश्चित प्रायः छ । स्वतन्त्र पार्टी नेपालका उम्मेदवार प्रदिप विष्टले पनि यस क्षेत्रमा उम्मेदवारी दिने बताइसकेका छन् । आइतबार साँझसम्म यस क्षेत्र लगायत देशभर आम निर्वाचनमा भाग लिन इच्छुक उम्मेदवारहरूको विवरण सार्वजनिक भइसक्नेछ ।

पछिल्लो मतदाता नामावली अनुसार काठमाण्डाै क्षेत्र नं. १० को प्रदेश क ४८९४४ तथा प्रदेश ख मा २७९६२ मतदाता रहेका छन् । यस क्षेत्रको प्रदेश क मा ६४ तथा प्रदेश ख मा ३३ मतदान केन्द्र कायम हुनेछन् । 

काठमाण्डाै निर्वाचन क्षेत्र नंं १० मा क्षेत्रमा दक्षिणकाली र कीर्तिपुर नगरपालिका तथा र चन्द्रागिरि नगरपालिकाका वडा नं. २, ३, ४, ५, ६, ७, ८, ९, १० र ११  पर्दछन् । यस क्षेत्रको प्रदेश क अन्तर्गत दक्षिणकाली र कीर्तिपुर नगरपालिका पर्दछन् भने प्रदेश ख अन्तर्गत चन्द्रागिरि नगरपालिकाका वडा नं. २, ३, ४, ५, ६, ७, ८, ९, १० र ११ का इलाका पर्दछन् ।

बैशाख महिनामा सम्पन्न स्थानीय निर्वाचनको मतपरिणाम हेर्ने हो भने यस क्षेत्रमा नेपाली काँग्रेस अन्य दलहरू भन्दा स्पष्ट मतान्तरसहित पहिलो स्थानमा छ । सो निर्वाचनमा कांग्रेसले २४ हजार ६ सय ७५ मत ल्याएको छ भने एमालेले १८ हजार ८ सय ३८ मत ल्याएको छ। त्यस्तै माओवादी केन्द्रले ४ हजार ९ सय ४२, राप्रपाले २ हजार ४ सय ९६ र एकीकृत समाजवादीले १ हजार ३ सय ४२ मत ल्याएको छ।

गत आम निर्वाचनमा यस निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका राजेन्द्र कुमार केसीले २४ हजार १ सय ९० मत ल्याएका थिए। दोस्रोमा रहेका तत्कालीन बाम गठबन्धनका माओवादी उम्मेदवार हितमान शाक्यले २१ हजार ९ सय ७ मत ल्याएका थिए।

नेपाली काँग्रेसका पुकार महर्जनले काठमाण्डाै क्षेत्र नं. १० क मा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका दिलिप महर्जनलाई १०१२ मतले पराजित गरेका थिए भने तत्कालीन नेकपा एमालेकी रमा आले मगरले काठमाण्डाै क्षेत्र नं १० प्रदेश ख मा ९९०३ मतसहित विजयी हुँदा नेपाली काँग्रेसका धर्मनन्द श्रेष्ठ ७०१७ मत सहित दोश्रो स्थानमा रहेका थिए । आले अहिले नेकपा समाजवादीमा छिन्, उनी यसपटक दोहोरिने अपेक्षामा रहँदा अवस्था अनुकुल हुने सम्भावना न्युन देखिएको चर्चा चल्न थालेको छ ।

स्थानीय तहको निर्वाचन परिणामको सारांशलाई आधार मान्ने हो भने नेपाली काँग्रेसका राजेन्द्रकुमार केसीले सहज जित हात पार्ने अनुमान काँग्रेस निकट शुभेच्छुकहरूको छ । तथापी पछिल्ला लगातार २ कार्यकाल जनताबाट अनुमोदित भएका केसीले आम मतदाताको अपेक्षाकृत कार्य गर्न चुकेको आरोप सामना गरिरहँदा ह्याट्रिक गर्ने अवसरका लागि यसपटक पनि आँखा चिम्लेर रूख चिन्हमै छाप हाल्छन् कि के गर्छन् त्यो भने मंसिर दोश्रो साता थाहा लाग्नेछ । गठबन्धनले काठमाण्डाै क्षेत्र नं. १० को प्रदेश क मा माओवादी केन्द्र तथा प्रदेश ख मा नेकपा एकीकृत समाजवादीलाई टिकट दिने निष्कर्षमा पुगेसँगै केसीले यसपटक कीर्तिपुर र दक्षिणकाली नगरपालिका क्षेत्रका मतदातासँग रूख र हँसिया हताैडा चिन्हमा मत माग्नुपर्ने अवस्था सृजना भएको छ । चन्द्रागिरिका १० वटा वडामा केसीले रूख र कलम चिन्हका लागि मत माग्न घरदैलोमा पुग्नुपर्नेछ ।

स्पष्ट जितको अंकगणित आफ्नो पक्षमा हुँदाहुँदै भिन्नाभिन्नै नीति, विचार र सिद्धान्त भएका दुई फरक फरक पार्टीका उम्मेदवारहरूलाई जिताउन काँग्रेसका मतदाता समक्ष रूखसहित तीन फरक चुनाव चिन्हमा माग्दा मतदाता कन्भेन्स हुने सम्भावना के होला भन्न सकिने अवस्था छैन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *