मनकामना आउँदै गरेकाे बस नवलपरासीमा दुर्घटना : ५ जनाको मृत्यु, २४ घाइते
थानकोट ।
मनकामना दर्शनका लागि आउँदै गरेको बस नवलपरासी पूर्वको बुलिङटारमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बुलिङटार- २, मथारमा भएको दुर्घटनामा २४ जना घाइते भएको प्रहरी चौकी डेढ गाउँले जनाएको छ । साे बस पाल्पाको रम्भा गाउँपालिका- १, हुँगीबाट आउँदै गरेकाे थियाे । 
ना ६ ख ७५८० नम्बरको बस अनियन्त्रित भई सडकबाट झन्डै सय मिटर तल खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रमुख भुवनेश्वर तिवारीले बताए । दुर्घटनामा रम्भा गाउँपालिका- १ हुँगीका ४१ वर्षीय तारा विक, १७ वर्षीय विनय विक, ६२ वर्षीय धनी विक, ५८ वर्षीय देवी गाहा, स्याङ्जाको गल्याङ नगरपालिका- ९ की ४५ वर्षीय फुलमाया विक रहेको प्रहरीले जनाएको छ ।
मनकामना आउँदै गरेका नारायणी यातायात प्रालीका दुई बसमध्ये एउटा अगाडि बढेको हो र एउटा दुर्घटनामा परेको हो ।
घटनास्थलमा रहेका रामपुरका स्थानीय पत्रकार प्रकाश ज्ञवालीका अनुसार आइतबार बिहान ३ बजेको समयमा कालीगण्डकी करिडोरअन्तर्गत सडकमा बस दुर्घटनामा परेको हो । हुँगीबाट राति ९ बजे मनकामना दर्शनका लागि हिँडेका थिए ।
दुर्घटनाग्रस्त बस भीरमा अड्किएको छ । स्थानीय र प्रहरीले उद्धार गरी सख्त घाइतेहरुलाई नारायणी सामुदायिक अस्पताल भरतपुर र सामान्य घाइते भएकाहरुलाई रामपुर पठाएका छन् ।
प्रहरीले ३० जना घाइतेहरुलाई उद्धार गरी अस्पताल पठाएको जनाएको छ ।
इकान्तिपुरबाट । तस्बिर सौजन्य : प्रकाश ज्ञवाली














