मातातीर्थमा यसरी मनाइँदैछ छठ, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो

Thankot Times

थानकोट ।

आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको पूजा अर्चना गरिएको छ। विशेष गरि तराईबासी समुदायले मनाउने छठ पर्व पछिल्लो समय संघीय राजधानी काठमाण्डाैमा समेत मनाउन थालिएको छ। अस्ताउँदो सूर्यलाई अर्घ्य दिन राष्ट्रपति विद्यादेवी भण्डारी काठमाडौंको गौरीघाटमा पुग्नुभएको छ ।

त्यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले पनि थापाथलीस्थित बागमती किनारमा बनेको छठघाटमा गई पूजा गर्नुभएको छ ।

प्रत्येक वर्ष कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्व काठमाडौं उपत्यकामा पनि भव्य रुपमा मनाइन्छ । काठमाडौंका जलासयहरुमा वर्षेनी छठ मनाउनेको संख्या बढ्दै गएको देखिन्छ ।

यस्तै, चन्द्रागिरि- ६ स्थित मातातीर्थ कुण्डमा चन्द्रागिरि क्षेत्र लगायत वरपरका स्थानमा बसोबास गर्ने तराईबासी समुदायका तथा अन्य श्रद्धालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको पूजा अर्चना गर्नुभएको छ । सो क्रममा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, उपप्रमुख बसन्ती श्रेष्ठ, चनपा ६ का वडाध्यक्ष संजय सिग्देल लगायत अन्य जनप्रतिनिधिहरू छठ पर्वको पूजा अर्चनामा सरिक हुनुभएको छ ।

पछिल्लो समय मातातीर्थ कुण्डमा पनि छठ मनाउनेहरूको संख्यामा बढोत्तरी हुँदै गएको छ । यस क्षेत्रमा छठ पर्वका लागि चाहिने संरचना लगायतको व्यवस्थापनका लागि चन्द्रागिरि नगर सदैव तयार रहेको नगरप्रमुख गिरीले बताउनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *