बिजुली अभावका कारण कार्यालय समयमा परिवर्तन
थानकोट ।
बङ्गलादेश सरकारले बिजुली अभावका कारण नोभेम्बरदेखि लागू हुने गरी कार्यालय समय परिवर्तन गरेको छ ।
प्रधानमन्त्री शेख हसिनाको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले याे निर्णय गरेको मन्त्रिपरिषद्का सचिव खण्डकर अनवारुल इस्लामले जानकारी गराएका छन् । उनका अनुसार यसअघि सरकारी कार्यालय र स्वायत्त संस्था बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म चलाउँदै आइएकाे थियो तर यसमा परिवर्तन गरी बिहान ९ बजेदेखि दिउँसाे ४ बजेसम्म कार्यालय समय तोकिएको छ ।
अधिकारीका अनुसार नयाँ कार्यतालिका नोभेम्बर १५ देखि लागू हुनेछ ।
यद्यपी सर्वोच्च अदालत, बङ्गलादेश बैंक र विद्यालय तथा कलेज प्रशासनले आ-आफ्नो कार्यतालिका तय गर्नसक्नेछन् ।
इन्धन अभावको सामना गरिरहेको बङ्गलादेशले बिजुली बचत गर्न र ट्राफिक जाम कम गर्न गएकाे अगस्टमा सरकारी कार्यालयको समय एक घण्टा घटाएको थियो ।














