लागुऔषध सेवन गरेका ४ जना चालक पक्राउ

Thankot Times

थानकोट । 

लागुऔषध सेवन गरी सवारी साधन चलाए नचलाएको सम्बन्धमा चालकलाई चेक गर्दै आएको ट्राफिक प्रहरीले आज काठमाडौँको जगाती क्षेत्रमा चेकजाँच गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर, नेपाल प्रहरी अस्पताल, प्रहरी वृत्त जगातीको संयुक्त टोलिले चेकजाँच गर्ने क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा ४ जना चालकलाई आज भक्तपुरको जगाती नजिकैको सडक खण्डमा फेला पारेको हो ।

झापाबाट काठमाडौँ आउँदै गरेको बा ४ ख १९ ५६ नम्बरको हाइस माइक्रो चालक, बा २४ प ११ ४६, बा ७६ प ५३ ८६ र प्रदेश ३-०२-००६ प ८२६ नम्बरको मोटरसाइकलका चालक लागुऔषध सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका हुन् । ४ जनालाई नै आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त जगातीमा राखिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी  वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए । चेकजाँचकै क्रममा सोही स्थानबाट मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने २ जना चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ । 

सवारी साधनका चालकहरूले लागुऔषध सेवन गरी सवारी साधन चलाए नचलाएको सम्बन्धमा प्राविधिक टोली सहित टि.एच.सि. किटको प्रयोग गरी गत साउन ९ गतेबाट ट्राफिक प्रहरीले चेकजाँच अभियान सुरु गरेको थियो ।  मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकलाई विगत लामो समयदेखि चेकजाँच गरी कारबाही गर्दै आएको ट्राफिक प्रहरीले पछिल्लो समय लागुऔषध सेवन गरी सवारी साधन चलाउने चालकको सङ्ख्या समेत बढेपछि कारबाहीलाई तीव्रता दिएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *