नेपाली बजारमा गुणस्तरहीन भिटामिन सी र डी ट्याब्लेट, तत्काल फिर्ता ल्याउन सरकारको निर्देशन
थानकोट ।
औषधि व्यवस्था विभागले बायोगेन रेमेडिज प्रालि र लोमस फार्मास्युटिकल्स प्रालिले उत्पादन गरेको औषधिहरू गुणस्तरहीन भएको पाइएपछि बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ।
ती दुई कम्पनीबाट उत्पादित ‘बायोकल- डी’ र ‘एस्भिट’ औषधि बजारबाट फिर्ता गर्न निर्देशन दिएको हो ।

आइतबार एक सूचना जारी गर्दै विभागले अनुगमनका क्रममा संकलन गरिएका औषधिका नमूना परीक्षण गर्दा यी दुई औषधि न्यून गुणस्तरको भेटिएको जनाएको छ। यस्तै औषधि ऐन २०३५ को दफा १४ बमोजिम यी औषधिको बिक्री वितरण रोक्का गरी बजारबाट तुरुन्त फिर्ता (रिकल) गर्न र त्यसको विवरण विभागमा पेश गर्न पनि विभागले निर्देशन दिएको छ।
विभागले यी औषधिको सिफारिस, बिक्री वितरण तथा प्रयोग समेत नगर्न र नगराउन सबैलाई अनुरोध गरेको छ।
तिलोत्तमा- १६ रुपन्देहीमा उद्योग रहेको बायोगेन रेमेडिजको बायोकल- डी औषधि क्याल्सियम कार्बोनेट र भिटामिन डी-३ ट्याब्लेट हो। यसको ब्याच नम्बर बीडी२१०४ रहेको छ।
यस्तै गोठाटार काठमाडौंमा उद्योग रहेको लोमस फार्मास्युटिकल्सको एस्भिट भिटामिन सी ट्याब्लेट हो। यसको ब्याच नम्बर एएस२१२१ हो।














