पाल्पाको खुर्सानेमा बस दुर्घटना, ६ जनाको मृत्यु

Thankot Times

थानकोट ।

पाल्पाको रैनादेवी छहरा गाउँपालिका-८, खुर्सानेमा बुधबार राति भएको यात्रुवाहक बस दुर्घटनामा ६ जनाको ज्यान गएको छ।

मृतक सबै पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं. ८ खुसार्ने गाउँका महिला हुन् ।

मृतकहरुमा ५४ वर्षीया खिमकुमारी राना, ३३ वर्षीया निर्मला घिमिरे, ११ वर्षीया सुरुमा घिमिरे, २१ वर्षीया दानकुमारी खत्री, ४५ वर्षीया गुनी गाहा र १९ वर्षीया विमा पाण्डे रहेका रैनादेवी छहरा गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष रेमबहादुर रानाले जानकारी दिए ।

रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुसार्ने जाँदै गरेको यात्रुबाहक बस रैनादेवी छहरा गाउँपालिका वडा नं. ८ मधुवन टारीफाँट नजिकै राधादी गैराजंगलमा गएराति साढे ९ बजेतिर दुर्घटना भएको थियो । ग १ ख ४९७७ नम्बरको बस सडकबाट करिब ६० मिटर तल भिरमा खसेर दुर्घटना भएको प्रहरी चौकी जुठापौवाका बरिष्ठ हवल्दार लिलाबहादुर केसीले जानकारी दिए ।

दुर्घटनामा १६ जना घाइते भएका छन् । उनीहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

सालझण्डी–ढोरपाटन सडक खण्डमा भएको उक्त दुर्घटना बसको स्टेयरिङ वा ब्रेक फेल भएर भएको हुन सक्ने अनुमान गरिएको वडाध्यक्ष रानाले बताए ।

दुर्घटनापछि बसका धनी र सहचालक फरार छन् । मृतकमध्ये तीन जनाको शव बसले च्यापेकाले शुक्रबार बिहान मात्र निकालेर पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको केसीले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ