कांग्रेसको केन्द्रीय सदस्य पदमा चन्द्रागिरिबाट चर्चित अनुहारसहित ८ जनाको उमेदवारी

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत विभिन्न पदमा मंगलबार मनोनयन दर्ता सम्पन्न भएको छ ।

सभापतिका लागि त्रिपक्षीय भिडन्त हुने भएको छ ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदमा गगन थापा, किशोरसिंह राठौर र श्यामकृष्ण खड्गीले उम्मेदवारी दर्ता गराएका छन् ।

अन्य पदहरूमा पनि उमेदवारी दर्ता गराउनेको संख्या निकै लामो रहेको बताइएको छ । केही पदमा भने निर्विरोध भएका छन् । मंगलबार भएको मनोनयनमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल निर्विरोध निर्वाचित भएका छन् ।

शर्मा वरिष्ठ उपसभापति र भुसाल उपसभापति (महिला) तर्फ निर्विरोध निर्वाचित भएका हुन् ।

उनीहरू दुवैजना गत वर्षको पुस अन्तिममा भएको विशेष महाधिवेशनबाट उपसभापतिमा निर्वाचित भएका थिए ।

यसपटक कांग्रेसले वरिष्ठ उपसभापति र महिला उपसभापतिको व्यवस्था गरेपछि शर्मा वरिष्ठ तथा भुसाल महिलातर्फ उपसभापतिमा निर्विरोध भएका हुन् ।

यसैबीच नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदमा चन्द्रागिरि नगर क्षेत्रका ८ जनाले उमेदवारी दर्ता गराएको विवरण प्राप्त भएको छ।

नेपाली काँग्रेस स्रोतका अनुसार नगर क्षेत्रबाट बागमती प्रदेशकी सांसद् यमुनादेवी श्रेष्ठ, मेयर घनश्याम गिरी, ट्रेड यूनियन काँग्रेसका केन्द्रीय अध्यक्ष योगेन्द्र कुमार कुँवर, चन्द्रागिरि कार्यपालिका सदस्य अस्मिता बयलकोटी, शिक्षक नेता लक्ष्मी किशोर सुवेदी, नारायणप्रसाद सुवेदी, आवेद हुसेन, बसन्ती भाटले विभिन्न क्लष्टरबाट केन्द्रीय पदमा उमेदवारी दिएका छन् ।

सांसद् श्रेष्ठले काठमाडाैं उपत्यका महिला, मेयर गिरीले काठमाडाैं जिल्ला भूगोल, कुँवरले श्रमिक, सुवेदीले पेशागत विषयगत क्षेत्र, बयलकोटीले यूवा महिला ३५ वर्ष मुनि, सुवेदीले प्रजातन्त्र सेनानी, हुसेनले मुस्लिम खुला, भाटले खस आर्य महिला क्लष्टरबाट केन्द्रीय सदस्य पदका लागि मनोनयन दर्ता गराएका हुन् ।

निर्वाचन समितिका अनुसार प्रथम नामावलीमा कुनै दाबी–विरोध वा आपत्ति भएमा आज बिहान १० बजेदेखि १२ बजेसम्म आवश्यक कागजातसहित केन्द्रीय निर्वाचन समितिको कार्यालयमा सम्पर्क गर्न सकिनेछ ।

दाबीविरोध तथा आपत्तिको प्रक्रिया पूरा भएपछि उमेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ केन्द्रीय नेतृत्व चयन हुँदै छ । सभापतिसहित विभिन्न पदमा उमेदवारी दर्ता भएपछि अब निर्वाचन समितिले दाबीविरोधको प्रक्रिया पूरा गरी अन्तिम उमेदवारको सूची सार्वजनिक गर्नेछ । भोलि मतदान हुँदै छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ