पोखरामा विमान दुर्घटना: शोकमा भोलि सार्वजनिक बिदा, उच्चस्तरीय छानबिन समिति गठन
थानकोट ।
पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाको शोकमा सरकारले माघ २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारले एक दिन शोक मनाउने निर्णय गरेको जानकारी दिए । आकस्मिक रूपमा बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयबारे मन्त्री पौडेलले भने, ‘घटनाका प्रति गहिरो दुःख व्यक्त गरेको छ । दिवंगतहरूप्रति श्रदाञ्जली र निधन भएका व्यक्तिको परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ । शोकपूर्ण घटनाका सन्दर्भमा माघ २ गते शोक मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।’
मन्त्रिपरिषद्को बैठकले उक्त घटनाको कारण जाँच गर्नका लागि पाँच सदस्यीय जाँच समिति पनि गठन गरेको छ ।
दुर्घटनालगत्तै बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा छानबिन समिति गठन गर्ने निर्णय गरेको हो।
समितिका सदस्यहरूमा नेपाली सेनाका अवकाशप्राप्त उपरथी एवं हवाईविज्ञ दीपकप्रसाद बास्तोला, अवकाशप्राप्त क्याप्टेन एवं हवाईविज्ञ सुनील थापा र इन्जिनियर टेकराजजंग थापा तथा सदस्यसचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन् ।
समितिलाई दुर्घटनाको कारण पहिचान गरी आगामी दिनमा सुरक्षाका लागि अपनाउनुपर्ने सुझावसहितको प्रतिवेदन पेस गर्न ४५ दिनको समय दिइएको बैठकपछि उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।
बैठकले आगामी दिनमा हवाई दुर्घटना हुन नदिन आन्तरिक उडानका सबै विमानको प्राविधिक परीक्षण गर्न सबै वायु सेवा कम्पनीहरूलाई निर्देशन दिने निर्णयसमेत गरेको छ ।
तस्बिर: सामाजिक सञ्जाल














