बिदाको दिन नागढुङ्गासहित उपत्यका भित्रने नाकामा २२ सरकारी सवारी साधनमाथि कारबाही
थानकोट ।
सरकारले सार्वजनिक बिदाको दिन सरकारी नम्बर प्लेटका सवारीसाधन चलाउन रोक लगाए पनि त्यसको दुरुपयोग रोकिएको छैन् । गृह मन्त्रालयले गत जेठयता दुईपटक सर्कुलर जारी गरेर सरकारी गाडी दुरुपयोग नगर्न निर्देशन दिएको थियो । तैपनि सरकारी कर्मचारी तथा अधिकारीहरूले व्यक्तिगत प्रयोजनका लागि सरकारी गाडीको दुरुपयोग गर्दै आएका छन् ।
गृह मन्त्रालयले ट्राफिक प्रहरी कार्यालयहरूलाई सार्वजनिक बिदाको दिन गुड्ने सवारीसाधनलाई कारबाही गर्न निर्देशन दिएपछि ट्राफिक प्रहरी चेकिङ कडाइ गरेको छ । तर, फाट्टफुट्ट सरकारी गाडी सडकमा देखिएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी टेकप्रसाद राईले जानकारी दिए ।
उनले पहिलेको तुलनामा सरकारी गाडीको दुरुपयोग केही कम भए पनि भित्री सडकको प्रयोग गरेर सरकारी गाडी व्यक्तिगत कामका लागि दुरुपयोग गर्ने प्रवृत्ति नहटेको बताए । ‘बिदाको दिन सडकमा जथाभावी सरकारी गाडी भेटिन्न, तर केहीले सरकारी गाडी दुरुपयोग पनि गरेका छन् । त्यस्तो भेटिएमा ट्राफिक प्रहरीलाई कारबाही गर्न निर्देशन दिएका छौँ,’ उनले भने, ‘कहीँकतै सरकारी गाडीको दुरुपयोग भएको भेटिएमा ट्राफिक प्रहरीलाई जानकारी गराउनुहोला ।’
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार शनिबार वा अन्य बिदाको दिन सरकारी गाडी दुरुपयोग गर्नेलाई प्रहरीले ठाउँठाउँमा रोकेर कारबाही गर्छ । तर, भित्री सडकहरूको प्रयोग गरेर सरकारी गाडी दुरुपयोग भइरहँदा त्यसमा कारबाही गर्न नसकिएको उनको भनाइ छ । ‘सरकारी गाडीको दुरुपयोग रोकिएको छैन, ठाउँठाउँमा ट्राफिक प्रहरीले कारबाही गरिरहेको छ,’ उनले नयाँ पत्रिकासँग भने, ‘हामीले नाका र मुख्य सडकमा कडाइ गरेका छौँ ।’ उनका अनुसार भित्री सडकमा ट्राफिक परिचालन गर्न पर्याप्त जनशक्ति छैन ।
सार्वजनिक बिदा वा शनिबार उपत्यका छिर्ने नाकाहरूमा सरकारी नम्बर प्लेटका कार भेटिने गरेका छन् । शनिबार उपत्यकाका थानकोट, चोभार, साँखु, जगातीलगायत नाकामा १० वटा सरकारी गाडी र १२ वटा सरकारी मोटरसाइकललाई प्रहरीले कारबाही तथा सोधपुछ गरेर छाडेको छ ।














