कलंकी-चाबहिल चक्रपथसहित चिनियाँ कम्पनीले ठेक्का पाएका आयोजना छिटो सक्न उपप्रधानमन्त्री श्रेष्ठको आग्रह
थानकोट ।
उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ निर्माण कम्पनीले ठेक्का पाएका आयोजना छिटो सक्न आग्रह गरेका छन् ।
मन्त्रालयमा आइतबार नेपालका लागि चिनियाँ राजदूत छन् सोङसँग शिष्टाचार भेटवार्तामा चिनियाँ निर्माण कम्पनीले ठेक्का पाएकामध्ये कलंकी-चाबहिल चक्रपथ, नारायणगढ-बुटवल सडक र मुग्लिन-पोखरा सडक विस्तारमा असाध्यै ढिलाइ भएको र त्यसबाट जनताले सास्ती भोग्नुपरेको भन्दै उपप्रधानमन्त्री श्रेष्ठले चाँडो निर्माण सक्न आग्रह गरेका हुन् ।
राजदूत सोङले टोखा-छहरे सडकको ‘इआइए’ प्रतिवेदन स्वीकृत गर्नेबित्तिकै चाइनाले थप कदम अगाडि बढाउने, ‘फिजिबिलिटी’ अध्ययन सकिनेबित्तिकै केरुङ-काठमाडौं रेल्वेको काम अगाडि बढाउने, अरनिको राजमार्गको विस्तार र मर्मतमा सहयोग गर्ने र नयाँ परियोजनाका लागि प्रस्तावहरू आएमा थप सहयोग गर्न तयार रहेको आश्वासन दिएको उपप्रधानमन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।
यस्तै कलंकी चाबहिल खण्डको केही स्थानमा अझै ‘साइट क्लिएर’ नभएको र नारायणगढ-बुटवल तथा मुग्लिन-पोखरा सडक निर्माण ढिलाईबारे आवश्यक समन्वय गरेर समयमै सम्पन्न गर्न सहयोग गर्ने पनि राजदूत सोङले बताएका थिए । उपप्रधानमन्त्री श्रेष्ठले संखुवासभा-किमाथांका नाका खुलाउनेबारे समेत राजदूत सोङको ध्यानाकर्षण गराएका थिए ।
भेटमा दुई देशको ऐतिहासिक सम्बन्धलाई असल छिमेकीका रूपमा अझै प्रगाढ बनाउने, निर्माण र पूर्वाधार अवस्था एवं संभावनाबारे महत्वपूर्ण छलफल भएको उपप्रधानमन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।














