हेटौंडा उपमहानगरपालिकाले करार सेवाका ७१ जना कर्मचारी हटायो
थानकोट ।
हेटौंडा उपमहानगरपालिकाले करारमा कार्यरत ७१ जना कर्मचारीलाई हटाएको छ ।
उपमहानगरपालिकाको करार र ज्यालादारीमा कार्यरत कर्मचारीहरुलाई हटाएको हो । उपमहानगरपालिकाको कार्यपालिका बैठकको निर्णयबाट ठूलो संख्यामा कर्मचारीहरू एकैपटक हटाइएको हो ।
मेयर र उपमेयरको तोक आदेशमा जागिर खाएका ७१ जना कर्मचारीलाई हटाइएको उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले बताउनुभयो । उपमहानगरपालिकामा चौथो तह, पाँचौ तह र छैटो तह सम्मका ७१ जना कर्मचारी हटाएको हो ।
उपमहानगरपालिकामा कार्यरत कम्प्युटर अप्रेटर, स्वास्थ्य, प्रशासन, प्राविधिक कर्मचारी हटाइएको प्रवक्ता न्यौपानेले बताउनुभयो । परिक्षाको सामान्य प्रक्रिया पनि पुरा नगरीकन तोक आदेशका भरमा जागिर खाएकाहरुलाई हटाइएको उहाँले बताउनुभयो ।
उपमहानगरपालिकामा लामो समयदेखि काम गर्ने कर्मचारी देखि भर्खर नियुक्त भएका कर्मचारीहरु समेतलाई हटाइएको हो । साउनदेखि पुस मसान्तसम्मका लागि करार गरिएका कर्मचारीको म्याद नथपिएको उपमहानगरपालिकाले जनाएको छ ।













