धादिङमा बस पल्टिँदा ६ जना यात्रु घाइते
थानकोट ।
धादिङमा बस पल्टिँदा ६ जना घाइते भएका छन् ।
बेनिघाट रोराङ गाउँपालिका ३ सलाङघाटमा आज बिहान बस पल्टिँदा बसमा सवार ६ जना यात्रु घाइते भएका हुन् ।
घाइतेमध्ये बर्दियाको बारबर्दिया नगरपालिका ५ बस्ने २० वर्षीय सुरज तिमल्सिना, नवलपरासीको कावासोती नगरपालिका २ सरस्वती चोक बस्ने ४० वर्षीया लक्ष्मी पाण्डे र सल्यानको बुङकोट नगरपालिका ७ बस्ने २१ वर्षीय सुरज विश्वकर्माको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
गम्भीर घाइतेहरूलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । बाँकी घाइतेको राजमार्ग अस्पताल मलेखुमा उपचार भइरहेको छ । उनीहरूको अवस्था भने सामान्य रहेको छ ।
नेपालगन्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख ४०५ नम्बरको बस अनियन्त्रित भई आज बिहान सवा ७ बजे सडकमै पल्टिएको इलाका प्रहरी कार्यालय बेनिघाटले जनाएको छ ।













