कलङ्की-बसुन्धारा सडक विस्तारकाे तयारी

Thankot Times

थानकोट । 

चक्रपथको दास्रो खण्डका रूपमा कलङ्कीबाट बसुन्धारासम्मको सडक विस्तारका लागि तयारी थालिएकोे छ । सडक निर्माण सुरु गर्नु पहिले चिनियाँ पक्षले स्थलगत भ्रमण गरेर सडक विभागसँग छलफल अघि बढाएको छ ।

चक्रपथको सो खण्ड विस्तारका लागि सडक विभागले केही वर्ष पहिलेदेखि  निर्माणस्थल खाली गराउन लागे पनि कोभिड सङ्क्रमणका कारण चिनियाँ पक्ष आएको थिएन । अहिले अवस्था सामान्य हुँदै जाँदा काम अघि बढाउन चाहेको विभागले जनाएको छ । उनीहरू आएर काम गर्न खाजेको र दुई पटक स्थलगत भ्रमण पनि गरेको विभागका विकास सहायता समन्वय महाशाखा प्रमुख डा विजय जैसीले बताए । पहिले पूर्वसम्भाव्यता अध्ययन गरेर काम कसरी गर्ने भनी छलफल गरिरहेको उनले जानकारी गराए । 

चक्रपथको पहिलो खण्डका रूपमा कोटेश्वर–कलङ्की सडक विस्तार गरिएको थियो । सो सडकमा निर्माणस्थल खाली नगर्दै काम सुरु गरिएकाले विस्तारका क्रममा धेरै समस्या आएको थियो । त्यही अनुभवका आधारमा चिनियाँ पक्षले पहिले निर्माणस्थल खाली भएपछि मात्रै निर्माण सुरु गर्न सरकालाई भनेको थियो । निर्माणस्थल खाली गराउँदा धेरै समस्या व्यहोर्नुपरेको  विभागले जनाएको छ ।

अहिले निर्माणस्थल खाली गर्ने क्रममा आएका धेरै समस्या समाधान भइसकेको छ । अहिलेसम्म चिनियाँ पक्षले निर्माण गर्ने लेनमा झन्डै ८० प्रतिशत जग्गा खाली गरिएको छ । गोङ्गबुचोक नजिकै मन्दिर भत्काइएको, स्वयम्भु नजिकै बाँकी रहेका दुई–तीनवटा विद्युतको पोल सारिएको र बसुन्धाराको बिसौनी नजिकै पनि निर्माणस्थल खाली भइरहेको बताइएको छ ।

रासस


Leave a Reply

Your email address will not be published. Required fields are marked *