धरानको श्रमदान अवलोकन गर्न राष्ट्रपति र प्रधानमन्त्रीलाई हर्क साम्पाङको निमन्त्रणा
थानकोट ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीलाई श्रमदानको अवलोकन गर्न निमन्त्रणा पठाएका छन्।
मंगलबार शीतलनिवास र बालुृवाटारलाई पत्र लेख्दै मेयर साम्पाङले धरानमा खानेपानीको समस्या र समस्या समाधानका निम्ति चलिरहेको श्रमदान अभियानको स्थलगत अवलोकनका लागि आमन्त्रण गरेका हुन्। सो कुरा उनले आफ्नो सामाजिक सञ्जालमा पनि राखेका छन् ।
पत्रमा उनले श्रमदानमा सहभागिता जनाउन पनि राष्ट्रपति र प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।
‘… यसै अवसरका बाबजुद धेरै समस्या र चुनौतीहरू पनि धरानमा रही आएको छ। दशकौं पहिलेदेखि खानेपानीको समस्या भोग्दै आएको यथार्थ अनुरोध गर्दै हाल खानेपानीको समस्या, आपुर्तिको अवस्था र समस्या समाधानका निम्ति चलिरहेको श्रमदान अभियानको स्थलगत अवलोकन र सहभागिताका लागि हार्दिक आमन्त्रण गर्दछु,’ मेयर साम्पाङले लेखेको पत्रमा उल्लेख छ।













