नयाँ वर्ष पहिलो दिन १० हजार यात्रुले चढे मनकामना केबुलकार
थानकोट ।
नयाँ वर्ष २०८०काे पहिलो दिन शुक्रबार १० हजार जनाले मनकामना केबुलकारबाट यात्रा गरेका छन्।
मनकामना केबलकार प्रा.लि का निर्देशक राजेशबाबु श्रेष्ठले नयाँ वर्षको पहिलो दिनमै १० हजार हाराहारी यात्रुले मनकामना केबुलकार चढेर मनकामना मन्दिर दर्शन गरेको जानकारी दिनुभयाे ।
‘नयाँ वर्षको पहिलो दिनमै यात्रुको उल्लेख्य उपस्थितिबाट हामी उत्साहित भएका छौं,’ निर्देशक श्रेष्ठले भन्नुभयो ‘मनकामना मन्दिर पुगेर रात बस्ने यात्रुका लागि गुणस्तरीय होटल निर्माण गरिरहेका छौं। होटल सञ्चालनमा आएपछि मनकामना मन्दिर पुग्ने स्वदेशी तथा विदेशी पर्यटक अझै बढ्ने विश्वास छ।’
केबुललकारका दुवै स्टेशनमा शुक्रबार बेलुकी अबेरसम्म यात्रुहरुकाे चाप थियाे ।
चालू आर्थिक वर्षको गत चैत मसान्तसम्म ७ लाख ५० हजार यात्रुले मनकामना केबुलकारबाट यात्रा गरिसकेका छन्।
मनकामना केबुलकार साढे दुई दशकअघि स्थापना भएको थियो।















