मिटरब्याज पीडितलाई प्रहरीले जबरजस्ती गाडीमा हालेर थानकोट कटाइदिएको पिडितको दाबी
थानकोट ।
शान्तिवाटिकामा झन्डै महिना दिनदेखि देशका विभिन्न जिल्लाबाट आएका मिटरब्याजपीडित बसेका छन्। महोत्तरीको बर्दिबासबाट पैदल हिँडेरै चैत १३ गते काठमाडौं आएका मिटरब्याजपीडितको पहिलो समूह शान्तिवाटिकामा बसेको थियो। त्यो समूह सरकारसँग पाँचबुँदे सहमति गरेर फर्किएको थियो। त्यसपछि विभिन्न जिल्लाबाट आएका मिटरब्याजपीडित चैत २० गतेदेखि शान्तिवाटिकामै बसेका छन्। काठमाडौं आएका मिटरब्याजपीडितको यो दोस्रो समूहले सरकारलाई माग पूरा गर्न दबाब दिइरहेको छ।
आन्दोलनकै क्रममा सोमबार मिटरब्याजपीडित मार्चपास्टसहित सिंहदरबार घेर्ने र गिरफ्तारी दिने योजनामा थिए। यसबारे प्रहरी वृत्त दरबारमार्गकी प्रहरी प्रमुख कोपिला चुँडाललाई जानकारीसमेत दिएको मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिका प्रवक्ता निर्ग नवीनले बताए।
‘उहाँसँग कुरा गरेरै सडक अवरुद्ध नहुने गरी रत्नपार्क, जमल, दरबारमार्ग, हात्तीसार, पुतलीसडक, पद्मोदय मोड हुँदै भृकुटीमण्डप, भद्रकाली भएर सिंहदरबारअघिको निषेधित क्षेत्रमा जाने र गिरफ्तारी दिने योजना थियो,’ उनले भने। प्रवक्ता नवीनका अनुसार त्यसका लागि १ बजेको समय निर्धारण गरिएको थियो। ‘१२ बज्दा हामीले मार्चपास्टको तयारी गरिसकेका थियौं, लाम लागिसकेका थियौं,’ उनले भने, ‘एकाएक प्रहरीले बाहिर निस्किन नमिल्ने भन्यो। गेट बन्द गरिदियो। हामी सबै आक्रोशित भयौं, गेटमाथि चढेर बाहिर निस्किन थाल्यौं, त्यसैबेला एकाएक प्रहरीले लाठी हान्न थाल्यो। प्रहरीले शान्तिवाटिकाभित्रै पसेर लाठी, पानीको फोहरा र अस्रुग्यास प्रहार गर्यो।’ प्रहरीले ६ राउन्ड अस्रुग्यास प्रहार गरेको उनको दाबी छ।
प्रहरीले अमानवीय ढंगले दमन गरेको प्रवक्ता नवीन बताउँछन्। ‘प्रहरीले महिनामाथि पनि लाठी हान्यो,’उनले भने, ‘हाम्रा ४३ जना साथी ट्रमा सेन्टरमा हुनुहुन्छ। २६० जनाभन्दा बढीलाई लाठी हानियो।’ सरकार माग पूरा गरी राहत दिनुको साटो दमन गरेर लखेट्ने योजनामा लागेको मिटरब्याजपीडितको आरोप छ।
काठमाडौंकेन्द्रित आन्दोलन गर्न आएका ४ सयजना जति मिटरब्याजपीडितलाई प्रहरीले जबरजस्ती गाडीमा हालेर थानकोट कटाइदिएको प्रवक्ता नवीनको दाबी छ।
उनले भने, ‘सेल्टर बनाएका सबै त्रिपाल उजाडिए। चारवटा खाना पकाउने ग्यास सिलिन्डर लुटियो। २० बोरा चामल, तरकारी, लुगा छरपस्ट पारिए। यो सबै हामीलाई लखेट्नकै लागि गरिएको हो।’ प्रहरीको दमन हेर्दा सरकार मिटरब्याजपीडितको पक्षमा काम गर्न नचाहेको देखिएको उनले बताए। प्रहरीले भने आन्दोलनकारीबाट सार्वजनिक शान्तिसुरक्षामा खलल पुग्ने स्थिति देखापरेकाले मार्चपास्ट र सिंहदरबार घेराउ कार्यक्रम रोक्न बल प्रयोग गर्नुपरेको दाबी गरेको छ। नागरिक दैनिकमा खबर छ । ‘उहाँहरूको अस्ती (सोमबार) को योजना नै हिंसात्मक प्रकृतिको थियो। भाटामा किला ठोकेर वारपारको लडाइँ गर्ने भन्दै हिंसात्मक स्थितिमा उत्रिने सूचना पाएपछि हामीले रोक्न खोजेका हौं,’जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले भने, ‘प्रहरीले प्रचलित ऐननियमअनुसार आफ्नो दायित्व र कर्तव्य निर्वाह गरेको छ।’ एक महिनासम्म मिटरब्याजपीडितको आन्दोलनमा प्रहरीले सहिष्णु व्यवहार गरेको दाबी गर्दै उनले सोमबार स्थिति नियन्त्रणमा राख्न र सार्वजनिक शान्ति कायम गर्न खोज्दा अवस्था तनावपूर्ण बनेको बताए। सोही घटनामा ११ जना घाइते भएको एसएसपी कार्कीले बताए।













