मातातीर्थमा श्रद्धालुहरूको खचाखच भीड (भिडियो सहित)
थानकोट ।
वर्षभरिका सबै औँसीहरू मध्येको सर्वश्रेष्ठ मानिएको वैशाख औँसी अर्थात मातातीर्थ औँसीका अवसरमा चन्द्रागिरि- मातातीर्थ कुण्ड क्षेत्रमा लाग्ने मेलाको सम्पूर्ण तयारी सकिएको छ । आज साँझबाटै मातातीर्थमा श्रद्धालुहरूको भीड बढेको छ । रातभर दीप प्रज्वलन गर्न टाढाटाढाबाट श्रद्धालुहरू यहाँ आइपुगेका छन् ।
मातातीर्थ औँसीका अवसरमा भोलि (बिहीवार) यस क्षेत्रमा मेला लाग्दैछ।
वि.संं २०७७ र ०७८ सालमा मा कोरोना महामारीका कारण स्थानीय प्रशासनले मातातीर्थ कुण्ड क्षेत्रमा मातातीर्थ औँसीमा मेला लगाउन रोक लगाएको थियो ।
यस क्षेत्रमा मातातीर्थ औँसीका अवसरमा दिवंगत आमाको नाममा श्राद्ध गर्न लाखाैंको संख्यामा श्रद्धालुहरूको उपस्थिति रहने गरेको छ ।
मातातीर्थ संरक्षण तथा विकास संस्थाका अध्यक्ष शान्त उदासले थानकोट टाइम्सलाई दिनुभएको जानकारी अनुसार मेला भर्न मातातीर्थ पुग्ने सबै श्रद्धालुहरूहरूको सुविधाका लागि आवश्यक न्युनतम पूर्वाधारहरू सहितको तयारी भइसकेको छ । मेला व्यवस्थापनका लागि सरोकार वालाहरूसँग छलफल भई जिम्मेवारी बाँटफाट भइसकेको छ ।
यसैगरी चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले मेला व्यवस्थापनका लागि नगरले भोलि नगरक्षेत्रमा सार्वजनिक विदा दिएको जानकारी दिनुभएको छ । उहाँले यस पर्वमा लाग्ने मेला व्यवस्थापनका लागि पाँच लाख रूपैयाँ विनियोजन गरेको समेत जानकारी दिनुभयो ।
मातातीर्थ मेलाको पूर्वसन्ध्यामा बागमती प्रदेश सभा सदस्य रमा आलेमगर, चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी, उपमेयर बसन्ती श्रेष्ठ, वडाध्यक्षहरू संजय सिग्देल, घनश्याम लुँइटेल, श्रीकृष्ण खत्री, राजेन्द्र महर्जन, अच्युत अधिकारी लगायत अन्य जनप्रतिनिधिहरू मातातीर्थ क्षेत्रमा पुग्नुभएको छ।
मातातीर्थका ढुंगेधारामा पानी सुकेपछि सो संस्थाको अनुरोधमा महादेवस्थान मातातीर्थ खानेपानी तथा सरसफाई उपभोक्ता समितिले ती धाराहरूमा डिपबोरिङ मार्फत पानी व्यवस्थापन गरेको बताइएको छ ।
पछिल्ला वर्षहरूमा सो संस्थाले मातातीर्थ औँसीका लागि पानी व्यवस्थापनको कार्य गर्दै आएको छ ।













