बिहानैदेखि वर्षा, दिउँसो भारी वर्षाको सम्भावना

Thankot Times

थानकोट । 

देशका केही भागमा आज बिहानैदेखि वर्षा भइरहेको छ ।

आज दिउँसो पनि मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ । आज बिहान बागमती र गण्डकी प्रदेशका धेरै तथा बाँकी प्रदेशका थोरै भू–भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । 

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा गण्डकी, लुम्बिनी, बागमती र कोसी प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा मधेस प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

सुदूरपश्चिम प्रदेश तथा गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति देशभर आंशिक देखी सामान्य रहनेछ । देशका पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षा तथा हावाहुरी, चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ ।

मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *