बागमतीका ११ जिल्लामा कांग्रेसका वडा सभापतिदेखि महासमिति सदस्यसम्म गरी २६८ पद रिक्त

Thankot Times

थानकोट । 

नेपाली कांग्रेसमा वडादेखि जिल्ला तहसम्म १२ सय ४ पद रिक्त रहेको पाइएको छ । कांग्रेस महामन्त्री गगन थापाले मङ्सिर २५ मा प्रदेश र जिल्ला कार्यसमितिलाई तल्लो तहको रिक्त पदको विवरण पठाउन निर्देशन दिएका थिए ।

कांग्रेसले १४ औँ महाधिवेशनअन्तर्गत प्रदेश, जिल्ला, प्रतिनिधिसभा क्षेत्र, प्रदेशसभा क्षेत्र, गाउँ-नगरपालिका र वडा तहका कार्यसमितिमा निर्वाचन र मनोनयन गर्न बाँकी पदको विवरण मागेको थियो ।

कांग्रेसमा विधानअनुसार केन्द्रीय समितिसहित आठ तहमा संगठन संरचना छ ।

बागमती प्रदेशका ११ जिल्लामा कांग्रेसका वडा सभापतिदेखि महासमिति सदस्यसम्म गरी २६८ पद रिक्त छन् ।

कांग्रेसको वडा तहमा चार सभापतिसहित ३२ पदाधिकारी तथा सदस्य र ६७ प्रदेश क्षेत्रीय प्रतिनिधिको पद रिक्त छ ।

यस्तै पालिका तहमा दुई सभापतिसहित २३ पदाधिकारी तथा सदस्य, प्रदेश सभा क्षेत्रीय समितिमा एक सभापतिसहित २८ पदाधिकारी र ३६ प्रदेश अधिवेशन प्रतिनिधिको पद रिक्त छ ।

प्रतिनिधिसभा क्षेत्रीय समिति र जिल्ला कार्यसमितिका ४१-४१ पदाधिकारी तथा सदस्यको पद रिक्त छ ।

बागमती प्रदेशमा कांग्रेसको पद रिक्त हुनुमा विदेश गएको, कारबाही, मृत्यु र पार्टी परित्याग देखिन्छ ।

काठमाडौँ र चितवनबाट पार्टीका रिक्त पदको विवरण कांग्रेस केन्द्रीय कार्यालयमा पुगिनसकेको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *