चन्दन भराटेश्वर महादेव मन्दिर क्षेत्रको विकासका लागि भारत सरकारले करिब ५ करोड रुपैयाँ दिने

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-०६ स्थित चन्दन भराटेश्वर महादेव मन्दिर क्षेत्रको विकासका लागि भारत सरकारले करिब ५ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ ।

मन्दिर क्षेत्रमा भाैतिक संरचनाको स्तरोन्नति एवं निर्माणका लागि बिहीबार चन्द्रागिरि नगरपालिका, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भारतीय राजदूतावास बीचमा त्रिपक्षीय सम्झौता भएको बताइएको छ ।

सम्झाैता अनुसार चन्दन भराटेश्वर मन्दिर परिसरमा छात्राबास भवन, युवा समुहको भवन, पठनपाठन भवन तथा सभाहल, भान्सा घर भवन, सार्वजनिक शौचालय, छेकबार पर्खाल लगायतका संरचना निर्माणका लागि भारत सरकारले आर्थिक सहायता उपलब्ध गराउन लागेको हो ।

ती कार्यका लागि  चन्द्रागिरि नगरपालिकाबाट तयार भएको विस्तृत योजना प्रतिवेदन (डिपिआर) मा उल्लेखित कूल अनुमानित चार करोड छत्तीस लाख नब्बे हजार तीन सय सन्तानब्बे रूपैयाँ बराबरको लागत भारत सरकारले व्यहोर्नेछ ।

बिहीबार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आयोजित एक कार्यक्रम बीच चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव महेन्द्र सापकोटा, काठमाडाैंस्थित भारतीय राजदूतावासका काउन्सिलर डेभलमेन्ट पार्टनरशीप करुण बंशलले सो सम्झौता (मेमोराण्डम अफ अण्डरस्टाइडिङ) मा हस्ताक्षर गरेको नगरप्रमुख गिरीको सचिवालयले जनाएको छ ।

सो क्रममा चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उच्च पदस्थ कर्मचारीहरु सहितको सहभागीता रहेको बताइएको  छ ।

यो मन्दिर भगवान शिवका ६४ वटा ज्योतिर्लिङ्‍गमध्ये ५०औं मानिन्छ।

भष्म गङ्‍गाबाट बहेर आएकी नवधारा तीर्थमा स्नान गरेर चन्दन भराटेश्वरको विधिवत् पूजा गरेमा आफूले चाहेको कुरा प्राप्त हुन्छ भन्ने किम्वदन्ती हिमवतखण्डमासमेत उल्लेख गरिएको छ।

यस मन्दिरको निर्माण कहिले ,कसले, कसरी गर्‍यो भन्ने यकिन तथ्य फेला नपरेता पनि स्थानीय ज्येष्ठ नागरिकहरु भने आफ्ना पूर्वजहरुका अनुसार यस क्षेत्रमा परापूर्वकालमा ठूलो सिस्नुको घारी थियो भन्ने कुरा बताउँछन्।

उक्त सिस्नुघारीको बीचतिर एक गाईले सधैँ आफ्नो दूध चढाएको देखेपछि गाउँले सबै गएर हेर्दा उक्त स्थानमा शिवलिङ्‍ग फेला पारेपश्चात् यस मन्दिरको निर्माण गरिएको हो ।

तथापि, हिमवतखण्डमा उल्लेख भएअनुसार भने प्राचीनकालमा भगवान शिवले पार्वतीलाई साथ लिएर विमानमा बसी यस क्षेत्रमा भ्रमण गर्नुभएको थियो। भ्रमण गर्ने क्रममा यस स्थानमा आइपुगेपछि यस लिङ्‍ग मूर्तिलाई देखाउँदै यसको पूजाबाट ब्रह्म, विष्णु र ईन्द्रले पनि मनले चाहेको कुरा प्राप्त गर्दछन् भन्ने कुरा बताउनुभयो। महादेवको कुरा सुनेर पार्वतीले तुरुन्तै विमानबाट ओर्लेर यस ठाउँमा आएर नवधाराको ढुङ्‍गामा चन्दन घोटी यसै शिवलिङ्‍गलाई लेपन गराउँदै हजार वर्ष बिताउनुभएको थियो। त्यो बेलादेखि यस लिङ्‍गको नाम चन्दन भराटेश्वर रहन गएको तथ्य हिमवतखण्डमा उल्लेख गरिएको छ।

ओझेलमा चन्दनभराटेश्वर मन्दिर

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *