संघीयता बोक्नेहरूलाई पनि प्रदेश घाँडो भएको छः चित्रबहादुर केसी
थानकोट ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता बोक्नेहरूका लागि नै प्रदेश घाँडो भएको बताएका छन्।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै केसीले जनमोर्चाले सुरूवातदेखि नै प्रदेश आवश्यक नरहेको बताउँदै आएको र अहिले संघीयता बोक्नेहरूका लागि पनि प्रदेश घाँडो भएको बताएका हुन्।
उनले नेपालजत्तिको सानो अर्थतन्त्र भएको मुलुकमा संघ र स्थानीय तहमात्रै भए पुग्ने बताए।
‘संघ भएपछि प्रदेश किन चाहियो। राजनीतिक दलका पार्टी र कार्यकर्तालाई थन्क्याउन ठाउँ त भा’छ । यसले मुलुकको अर्थतन्त्र चौपट छ,’ उनले भने, ‘प्रदेशको औचित्य छैन भनेर राष्ट्रिय जनमोर्चाले राख्यो। तर अहिले सबैका मनमा बिजाएको छ । प्रदेश घाँडो भएको छ। संघीयता बोक्नेहरुलाई पनि अहिले प्रदेश घाँडो भाछ।’
उनले सांसदहरू विकासका एजेन्ट भएको बताए। ‘एकातिर हाम्रो काम नियम कानुन बनाउने । अर्कोतिर विकासका कामका ठेक्कापट्टा । त्यसकारण व्यवहारमा लागू भाछैन। नियम कानुन मात्रै बनाउने हो हाम्रो काम त्यसमा विचार गर्नुपर्छ,’ उनले भने।
उनले सांसदहरूको व्यवहारका कारण पनि नागरिकहरूमा वितृष्णा पैदा भएको बताए।
देशमा केही हुन्न भनेर विदेशिएका युवाहरू स्वदेश नफर्किने केसीले बताए। त्यसले गर्दा भ्रष्टाचार नियन्त्रण हुने भन्दै केसीले ब्यंग्य गरे।
‘सबका सब छोराछोरी क्यानडा, अमेरिका, अष्ट्रेलिया। हामीले अब घुस खान पनि किन पर्दैन भने हामीले त्यता पठाएका छोराछोरी यता आउँदैनन्। छोराछोरीका लागि हो भ्रष्टाचार गर्नुपर्ने, घुस खानुपर्ने,’ उनले भने, ‘त्यसमा चाहीँ हामीलाई सजिलो भएको छ।’











