उपचारका लागि अमेरिका जान चाहेका तत्कालीन राजा त्रिभुवनले बहुविवाह गरेका कारण भिसा पाएनन

Thankot Times

थानकोट ।

क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको छ ।

टी-२० विश्वकप खेल्नका लागि अमेरिका जान लागेका लामिछानेलाई अमेरिकी दूतावासले दोस्रो प्रयासमा पनि भिसा दिन अस्वीकार गरेको हो । 

सरकारी पहल अनुसार उनी बिहीबार अपराह्न अन्तरवार्ताका लागि अमेरिकी दूतावास पुगेका थिए ।

तर, उनलाई दूतावासले यसअघि जस्तै भिसा दिन अस्वीकार गर्‍यो ।

उनलाई अमेरिकाले भिसा नदिएकोमा क्रिकेट समर्थकहरूले आक्रोश पोख्दै आएका छन् । 

उच्च अदालत पाटनबाट बलात्कार मुद्दामा सफाइ पाएका लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)ले निलम्बन फुकुवा गर्दै विश्वकपमा खेल्न पाउने ढोका खुला गरिदिएको थियो ।

सोहीअनुसार आईसीसीमा समेत पत्राचार भएर भिसाका लागि सहजीकरण गर्न दूतावासमा पत्र पुगेपनि अमेरिकाले भिसा नदिएको हो । अमेरिकाले भिसा नदिनुको कारण खुलाएको छैन् । 

राजा त्रिभुवनले पनि पाएका थिएनन् भिसा 

तत्कालीन राजा त्रिभुवन वीरविक्रम शाहले पनि अमेरिकाको भिसा नपाएको विवरणसहितको रिपोर्ट २०७४ साउनमा हिमाल खबरमा छापिएको छ । 

उपचारका लागि अमेरिका जान चाहेका तत्कालीन राजा त्रिभुवनले बहुविवाह गरेकै कारण भिसा नपाएको उक्त रिपोर्टमा उल्लेख छ । सन् १९५४ को नोभेम्बरमा राजा त्रिभुवन उपचारका लागि अमेरिका जाने कार्यक्रम तय भएको थियो ।

तर, उनको योजनामा त्यसको दुई वर्षअघि नै जारी भएको अमेरिकाको अध्यागमन र राष्ट्रियता सम्बन्धी कानुनको खण्ड २१२ बाधक बनेको थियो ।  जसमा ‘एकसाथ दुई पत्नी वा पति भएका व्यक्ति’ लाई भिसा नदिने व्यवस्था गरिएको थियो ।

४ नोभेम्बर १९५४ को न्यूयोर्क टाइम्सले राजा त्रिभुवन अमेरिका जाने कार्यक्रममा त्यहाँको कानुन अवरोध भएपछि अमेरिकी अधिकारीहरू ‘नेपालका राजालाई अमेरिकामा स्वागत गर्नका लागि अन्य उपायबारे छलफलमा रहेको’ समाचार प्रकाशित गरेको थियो । 

उक्त विषयमा एकै महिनाभित्रै दुईवटा समाचार प्रकाशित गरेको पत्रिकाको ३० नोभेम्बर १९५४ मा प्रकाशित समाचारमा ‘एक पत्नी भएको व्यक्तिलाई मात्र प्रवेशाज्ञा दिने अमेरिकी कानुनका कारण’ राजा त्रिभुवनको अमेरिका भ्रमण स्थगित भएको पनि उल्लेख छ ।

अमेरिका जान नमिल्ने भएपछि उपचारका लागि स्विट्जरल्याण्ड गएका राजा त्रिभुवनको १३ मार्च १९५५ मा स्विट्जरल्याण्डमै निधन भएको थियो । राजा स्विट्जरल्याण्ड जानुअघि उनले देशबासीको नाममा एउटा सम्बोधन समेत गरेका थिए ।

रातोपाटीबाट । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ