यस कारण काठमाडाैंका अधिकांश पेट्रोलमा इन्धन अभाव
थानकोट ।
थानकोटस्थित नेपाल आयल निगमको बागमती प्रादेशिक कार्यालयमा रहेको इन्धन डिपोका ट्यांकर चालक तथा सहचालकहरूले हिजो आइतबारबाट पेट्रोलियम पदार्थ ढुवानी बन्द गरेपछि आज सोमबार काठमाडाैंका अधिकांश पेट्रोल पम्पमा इन्धन अभाव भएको छ।
विभिन्न ७ बुँदे माग राखी ट्यांकर मजदुरहरूले पेट्रोलियम पदार्थको ढुवानी ठप्प पारेका हुन् ।
लामो समय देखि आयल निगममा ट्यांकर चालक मजदुरहरूले बिना सुविधा काम गरिरहेको सन्दर्भमा नेपाल आयल निगम, उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय लगायतका निकायबाट समेत मजदुरहरूको मागका सन्दर्भमा कुनै सुनुवाइ नभएको भन्दै मजदुरहरू आन्दोलनमा उत्रिएका हुन् ।
जेठ ३२ गते हातमा कालोपट्टी बाँधेर विरोध गरेका मजदुरहरूले हिजो असार १ गते गाडीमा कालो झण्डा राखेर विरोध गरेका थिए । आइतबार भने उनीहरूले गाडीको साँचो सम्बन्धित धनीलाई बुझाएर आन्दोलनमा उत्रिएका हुन् ।
चालकहरूले पेट्रोलियम पदार्थ बोक्ने ट्यांकर नचलाएका कारण पेट्रोलियम पदार्थ पम्पहरूसम्म पुग्न सकेको छैन् ।
ट्यांकर चालक मजदुरहरूको समस्या समाधान निम्ति विभिन्न निकायमा भन्दा पनि कुनै सुनुवाइ नभएकाले आफूहरू आन्दोलनमा ओर्लिएको उनीहरूको भनाइ छ।
‘माग सम्बोधन नभए नेपालभरका सबै ट्यांकर चालक मजदुरहरू बाध्य भई आफ्नो कामकारबाही छाडेर आन्दोलन गर्न बाध्य हुनेछौं,’ संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ।














