स्थानीय तहको उपनिर्वाचनः कीर्तिपुर नगरको मेयरमा राप्रपाबाट ईञ्जिनियर ध्रुव महर्जन उम्मेदवार
थानकोट ।
ईञ्जिनियर ध्रुव महर्जन मंसिर १६ मा हुने कीर्तिपुर नगरको उपनिर्वाचनका राप्रपाका तर्फबाट मेयरको उम्मेदवार चयन भएका छन् ।
मंगलबार कीर्तिपुरमा आयोजित कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले महर्जनलाई मेयरको उम्मेदवार घोषणा गरेका हुन् ।
यसैगरी कीर्तिपुर वडा नम्बर १ वडा अध्यक्षका लागि सुरेन्द्र उप्रेती र वडा नम्बर ४ वडा अध्यक्षका लागि विशेष बस्नेतलाई उम्मेदवार घोषणा गरेको छ।
निर्वाचन आयोगले मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ता गराउनुपर्नेछ कार्यतालिका निर्धारण गरेको छ ।
बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता गरिने र त्यही दिन बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशित गरिनेछ ।
उम्मेदवारको विरोधमा उजुरी दिने अवधि मंसिर ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएको छ ।
मंसिर ४ गते बेलुका ५ बजेदेखि ६ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।
मंसिर ५ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
दिउँसो ३ बजेदेखि ५ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।
मंसिर १६ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।
मतदान सुरु हुनु ४८ घण्टा अगाडि अर्थात् मंसिर १३ गते राति १२ बजेपछि प्रचारप्रसार निषेध अवधि लागू हुने आयोगले जनाएको छ ।











