२०८४ को चुनावमा चन्द्रागिरिमा नेकपा एमालेको जित हुन्छ- सांसद् श्रेष्ठ
थानकोट ।
नेकपा एमालेका नेता एवं काठमाडाैं क्षेत्र नं. ९ का संघीय सांसद् कृष्णगोपाल श्रेष्ठले २०८४ को स्थानीय तह निर्वाचनमा चन्द्रागिरि नगरका सबै ७७ वटै पदमा नेकपा एमालेको जित हुने बताएका छन् ।
बिहीबार बिहान सो पार्टीको चन्द्रागिरि नगर कमिटीको कार्यालय उद्घाटन एवं चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा सांसद् श्रेष्ठले सो धारणा राखेका हुन् ।
दशैंको मुखै देशभर बाढी पहिरोका कारण जनधनको व्यापक क्षति भएकोमा दुःख व्यक्त गर्दै सांसद् श्रेष्ठले दशैं चाड खल्लो रहेपनि तिहार, नेपाल संवत् तथा छठ पर्व गच्छेअनुसार हर्षोल्लासपूर्वक मनाउन सबैमा अनुरोध गरे । उनले भने चाडपर्व मनाएपछि हामी सांगठनिक सुधारमा लाग्नेछाैं ।
मंसिर १६ का लागि तय भएको स्थानीय तह निर्वाचनमा नेकपा एमालेले अधिकांश स्थानमा जित हात पार्ने दाबी गर्दै सांसद् श्रेष्ठले चन्द्रागिरि नगरमा नयाँ स्थानमा कार्यालय भवन स्थानान्तरण गरिएसँगै यहाँ पार्टीको अवस्था थप मजबुद् हुने अपेक्षा लिएको बताए ।












