आईएसएफ जिम्नासाइड समर गेम्सः पदक तालिकामा नेपाल २३औं स्थानमा, २२ मुलुक पदकविहिन

Thankot Times

थानकोट ।

बहराइनमा सम्पन्न भएको आईएसएफ जिम्नासाइड समर गेम्सको पदक तालिकामा नेपाल २३औं स्थान प्राप्त गरेको छ ।

६८ मुलुक सहभागी प्रतियोगितामा २२ मुलुक पदकविहिन बने ।

३० अक्टोबरमा सम्पन्न भएको प्रतियोगितामा दक्षिण एसियाबाट नेपाल र भारत मात्रै सहभागी भएका थिए ।

नेपालले ३ स्वर्ण, १ रजत र तीन कास्य पदक जित्यो । भारतले १ स्वर्ण, ४ रजत र ५ कास्य जित्यो ।

नेपालले बक्सिङमा दुई स्वर्ण र दुई कास्य पदक जित्दा  तेक्वान्दोमा समान एक स्वर्ण, रजत र कास्य जितेको हो ।

बक्सिङको पुरुष ८० केजीमुनिको ताैल समुहमा नोर्बु थेन्डुप लामा र महिला ५४ केजीमुनि स्वस्तिका तिरुवाले स्वर्ण जिते । दुवै खेलाडीका यो पहिलो अन्तर्राष्ट्रिय स्वर्ण हो। बक्सिङकै पुरुष ४६ केजीमुनि रोहित जनाला र ८० केजीमुनि सूर्यान वैद्यले कास्य पदक हात पारे ।

बहराइनको मानामामा भएको प्रतिस्पर्धामा तेक्वान्दोमा चन्द्रागिरि नगरपालिका नैकापस्थित ब्राइट फ्यूचर माविका छात्र उज्ज्वल वाग्लेले दोहोरो पदक जित्न सफल भए ।

उज्ज्वलले पुरुष ६८ केजीमुनि स्वर्ण र पुरुष एकल पुम्सेमा रजत जितेका हुन् । तेक्वान्दोकी निविता केसीले महिला एकल पुम्सेमा कास्य जितिन् ।

प्रत्येक दुई वर्षको अन्तरमा हुने यू-१८ उमेर समूहको आईएसएफ जिम्नासाइडको २०औँ संस्करणमा नेपालबाट पाँच खेलमा ३२ खेलाडी सहभागी थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *