देशका विभिन्न स्थानमा भारी वर्षा : यी स्थानमा बाढीको खतरा, उच्च सतर्कता अपनाउन आग्रह

Thankot Times

थानकोट ।

मंगलवार राति देशका विभिन्न स्थानमा भारी वर्षा भएको छ। जल तथा मौसम विभागको बाढी पूर्वानुमान महाशखाले भारी वर्षा भएका क्षेत्रको नदी आसपास तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

कहाँ कहाँ खतरा?

बाग्लुङ्ग गल्कोट र आसपासको क्षेत्रमा हिजो साँझ नै भारी वर्षा भएको र थप हुने महाशाखाले जनायो। ‘सो क्षेत्र भइ बहने स-साना नदीहरूमा खतरा तह सम्मको बाढी आउन सक्ने भएकोले तटीय क्षेत्रमा रहनुहुनेहरूले भोलि(मंगलवार) सम्मै उच्च सतर्कता अपनाऔं,’ महाशाखाले सूचना जारी गर्दै भनेको छ।

त्यसैगरी दाङ घोराही आसपास क्षेत्रमा पनि भारी वर्षा मापन गरिएको छ। ‘बबइलगायत अन्य स-साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय क्षेत्रमा रहनुहुनेहरूले भोली(मंगलवार) सम्म उच्च सतर्कता अपनाऔं,’ महाशाखाले भनेको छ।

आज बिहान कैलाली, कन्चनपुर र आसपास क्षेत्रका नदीमा एक्कासी बाढी आउन सकिने पूर्वानुमान छ। ‘असार १५ बिहान ३ बजे पछिल्लो ३ घण्टा कैलाली, कन्चनपुर र आसपास धेरै स्थानमा भारी बर्षा भएकोले कान्द्रा, मोहना, खुटीयालगायत नदीमा एक्कासी बाढी आउन सक्ने, कान्द्रा नदी कैलालीमा जलसतहले सतर्कता तह पार गरेको, नदी तटीय होचा डुबान भइरहने क्षेत्रमा बिहान १० बजेसम्म विषेश सतर्कता अपनाऔं,’ बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

यसैगरी रौतहटको गौर र आसपास क्षेत्रमा पनि पछिल्लो ६ घण्टादेखि भारी वर्षा मापन भएको महाशाखाले जनायो। उक्त क्षेत्र भइ बहने साना नदीहरुमा बेलकासम्मै उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

यसैगरी जाजरकोट र आसपासको क्षेत्रहरूमा पछिल्लो ३ घण्टामा भारी वर्षा मापन भएको महाशाखाले जनायो। सो क्षेत्र भइ बहने साना नदीहरूमा बाढीको जोखिम भएकाले तटीय क्षेत्रमा र पहिरोग्रस्त क्षेत्रमा रहनेले दिउँसो सम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *