काठमाण्डाैमै एकै वडाका ८ जनामा हैजा देखिएपछि ‘रेड जोन’ घोषणा
थानकोट ।
कागेश्वरी-मनोहरा नगरपालिकाको वडा नम्बर ६ लाई सरकारले हैजाको ‘रेड जोन’मा राखेको छ ।
स्वास्थ्य मन्त्रालयले एउटै वडामा हैजाका ६ भन्दा बढी बिरामी पुष्टि भए उक्त वडालाई अति जोखिममा वर्गीकरण गरेर ‘रेड जोन’मा राख्ने गरेको छ । कागेश्वरी-मनोहरा-६ मा आठजनामा हैजा संक्रमण पुष्टि भएको छ ।
संघीय सरकारले संक्रमण नियन्त्रणको जिम्मा स्थानीय तहलाई दिए पनि परिस्थिति जटिल बनेकाले केन्द्र सरकार नै ‘रेड जोन’ घोषणा गरेर नियन्त्रणका लागि पहल लिएको छ । ‘आठजनामा हैजा संक्रमण पुष्टि भएकाले कागेश्वरी-मनोहरा-६ रेड जोनमा परेको छ । वडा नम्बर ७ र ९ मा पनि हैजाका लक्षण मिल्ने बिरामी भेटिएको भन्ने छ,’ स्वास्थ्य सेवा विभागअन्तर्गत रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले भने, ‘विश्व स्वास्थ्य संगठनको टोलीसहित स्वास्थ्यकर्मीहरूले प्रभावित क्षेत्रको अनुगमन गरेका छन् ।’
असार २ यता काठमाडौं उपत्यकामा हैजाको संक्रमण निरन्तर बढिरहेको छ । सोमबारसम्मको तथ्यांकअनुसार उपत्यकाभर २७ संक्रमित पुष्टि भएका छन् । कागेश्वरी–मनोहराबाहेक काठमाडौं महानगरपालिकामा ११, ललितपुर महानगरपालिकामा तीन, चन्द्रागिरि नगरपालिकामा दुई, कीर्तिपुर नगरपालिका, बुढानीलकण्ठ नगरपालिका र चाँगुनारायण नगरपालिकामा एक–एकजनामा हैजा पुष्टि भएको छ । २७ मध्ये पाँच संक्रमित बालबालिका छन् । एकजना चार वर्षभन्दा कम उमेरको रहेको तथ्यांकमा उल्लेख छ ।
स्वास्थ्य मन्त्रालयले ६ देखि २० बिरामी देखिएको वडालाई अति जोखिममा वर्गीकरण गरेको छ भने एकदेखि दुई केस देखिए सामान्य अवस्था र तीनदेखि पाँच केस देखिए जोखिममा राखेको छ । वषर्सातको समयसँग सडकमा हप्तौँसम्म उठ्न नसकेको फोहोरका कारण हैजाको संक्रमण फैलिएको स्वास्थ्यका अधिकारीहरू बताउँछन् ।
गत वर्ष कपिलवस्तु र सप्तरीमा आठजनामा हैजा पुष्टि भएको थियो । तर, यसपालि एक महिनाको बीचमै २७ जनामा पुष्टि भएको छ । धारा र कुवासँगै खासगरी बिक्रीमा राखिएका जारको पानीमा हैजाका जीवाणु देखिएको सरकारी अधिकारीहरूले बताएका छन् ।












