नागढुङ्गा सुरुङ मार्गको प्रवेशद्वारनजिकै अर्को संकट, घरसहित राजमार्ग नै पहिरोमा खस्ने जोखिम
थानकोट ।
नागढुङ्गा-सिस्नेखोला सुरुङ मार्गको पश्चिमी क्षेत्र धादिङको धुनिवेशीस्थित सुरुङ मार्गको प्रवेशद्वार अगाडिको भागमा जमिनमा चिरा परेको छ ।
निर्माणाधीन नाग ढुङ्गा मुग्लिङ सडक अन्तर्गत नाग ढुङ्गा नौबिसे सडक खण्डमा पर्ने त्रिभुवन राजपथमा अघिल्लो वर्ष पहिरो गएको सो क्षेत्रमा अहिले पुनः जमिन चिरिएको हो ।
नजिकै बस्ती र तल सडक रहेको सो क्षेत्रको जमिन चिरिएको र केही भाग सरेको सुचना आए पछि नागढुङ्गा-नौबिसे सडक आयोजना र सुरुङ निर्माण आयोजनाका प्रमुख र प्राविधिकसहित अनुगमन गरेको छ ।
धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले सुरुङ मार्ग प्रवेशद्धराको अघिल्तिरको दाहिनेपट्टि करिब १ सय ८० मिटर चौडाइ र ४० मिटरको उचाइमा पहिरो बग्ने सम्भावना रहेको प्रविधिकहरुको भनाइ रहेको बताए ।
यसभन्दा अघि पनि पहिरो गएको र सो क्षेत्रमा त्रिपालले ढाकिएको भए पनि पुन जमिन चर्किएको देखिएपछि तत्काल माथिल्लो भागमा त्रिपाल राखेर पानी छिर्न नदिई सम्भावित जोखिम कम गर्ने वातावरण बनाउन र आवश्यक सामाग्रीको व्यवस्थापन गर्न दुवै आयोजना प्रमुखलाई धादिङका प्रमुख जिल्ला अधिकारी घिमिरेले निर्देशन समेत दिएका छन् ।
पहिरोको नजिकै माथिल्लोपट्टि केही घरहरु पनि रहेका छन् ।
पहिरो झर्दा माथि रहेका घरसँगै तल रहेको मुख्य सडक त्रिभुवन राजपथमा समेत प्रभाव पर्नेछ ।
शिव सिलवाल, नेपाल टेलिभिजन












