देवदर्शन साकोसले आयोजना गरेको स्वास्थ्य शिविरमा ३४६ जनाले उठाए लाभ
थानकोट ।
चन्द्रागिरि नगरपालिका-०५ स्थित देव दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थाको १७ औं वार्षिक उत्सवको अवसरमा शनिबार सञ्चालन गरेको स्वास्थ्य शिविरमा ३४६ जनाले सेवा लिएका छन् ।
तिलगंगा आँखा अस्पताल गौशाला र मेड पोइन्ट अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित निःशुल्क शिविरमा १९९ जनाले आँखा जाँच गराएका थिए । यस्तै, १४७ जनाले रक्तचाप, मधुमेह, नशा तथा हाडजोर्नी, छाला रोगका विशेषज्ञ चिकित्सकीय सेवा एवं परामर्श लिएको बताइएको छ ।
शिविरमा आँखा जाँच गराएमा मध्ये ७ जनामा मोतिबिन्दुको लक्षण देखिएको संस्थाका अध्यक्ष राम नारायण घिमिरेको भनाइ छ ।
उनीहरूको थप उपचारका लागि संस्थाले नै सहयोग एवं समन्वय गर्ने बताइएको छ ।
संस्था स्थापना दिवसका अवसरमा देव दर्शन साकोसले वर्षेनी सामाजिक उत्तरदायित्वका विविध कार्यहरू सञ्चालन गर्दै आएको छ ।












