‘थानकोटदेखि धुलिखेलसम्म मेट्रो रेलको डीपीआरका लागि टेण्डर हुन्छ’-मन्त्री लम्साल
थानकोट ।
पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले काठमाडौं उपत्यकामा मेट्रो रेल बनाउनेबारे नयाँ अध्ययन गर्ने बताएका छन् ।
यसअघिको २७ किमीको स्थगित गरेर नयाँ योजना बनाइरहेको उनले बताएका हुन् ।
बिहीबार प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथि श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङ (हर्कराज राई)ले सोधेको प्रश्नमा मन्त्री लम्सालले १५० किमीको मेट्रो रेलको योजना बनाएको बताएका हुन् ।
‘यसअघिको २७ किमीको योजनालाई स्थगित गरेर थानकोटदेखि धुलिखेलसम्म पुग्नेगरी मास्टर ट्रान्सपोटेसन प्लान अन्तर्गत १५० किमीको मेट्रोको योजना बनाएका छौं, यो पनि डीपीआरमा जान्छ’, मन्त्री लम्सालले भने ।
मन्त्री लम्सालले अहिलेसम्म उपलब्धि नभए पनि पानीजहाजको विकास गर्न सकिने भएकाले बजेटमा परेको बताए ।
‘पानीजहाज कार्यालयमा परेको बजेट दुरुपयोग नगरौं, ट्राइ गरौं, समुद्रसम्म जाने नभए पनि मिनीपानीजहाज चलाउन सकिन्छ’, मन्त्री लम्सालले बैठकमा भने ।










