चोभार गल्छी बचाउन कसैले रगत बगाउन पर्दैन, संयम बनाैं- सांसद केसी
थानकोट ।
काठमाडाैं उपत्यकाको मावन सभ्यतासँग जोडिएको चोभार गल्छेडोका सन्दर्भमा पछिल्लो समय विभिन्न चियो र चर्चा भइरहँदा कीर्तिपुरमा मंगलबार बिहान सार्वजनिक सुनुवाइ आयोजना गरिएको छ ।
अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले चोभारस्थित गल्छी साँघुरो भएको भन्दै डाँडा काट्ने तथा ढुंगा फुटाउने योजना ल्याएपछि यसले चर्चासँगै विवाद सिर्जना गरेको छ ।
उक्त स्थान ललितपुर महानगरपालिका– १८ र कीर्तिपुर नगरपालिका– ६ को सिमानामा पर्छ । यी दुवै स्थानीय तहले केन्द्र सरकारबाट ढुंगा फुटाउन लागेकोमा विरोध गरेका छन् । यो कार्य अघि बढाउन नहुने स्थानीयहरूको भनाइ छ ।
मंगलबार बिहान चोभारमा वडा कार्यालयले संयोजन गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा सांसद राजेन्द्र कुमार केसी, कीर्तिपुर नगरका मेयर कृष्णमान डंगोल, उपमेयर शुभलक्ष्मी शाक्य, राजनीतिक दलका स्थानीय प्रतिनिधिहरू तथा स्थानीय बासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
सार्वजनिक सुनुवाइमा बोल्दै सांसद् राजेन्द्रकुमार केसीले चोभार गल्छीको विषयमा कसैले आक्रोशित हुन नपर्ने र विवाद गर्न नपर्ने बताए । उनले भने चोभार गल्छी हामी सबैको सभ्यता हो । यहाँको महत्वलाई संकटमा ल्याउन कुनैपनि किसिमको कार्य हुन हामी दिँदैनाैं सांसद केसीले भने ।
चोभार गल्छीको साँघुरो भाग ठूलो बनाउँदैमा काठमाडाैं उपत्यकाको नदीको पानीको प्रवाहमा सुधार नहुने भन्दै उनले भने बल्खुबाट नै नदीको किनार साँघुरिएकोले सो स्थानबाटै नदी किनार सुधार गराैं, चोभार गल्छीको विषयमा अनावश्यक भ्रम, संसय र चिन्ता नगराैं ।


















