बलम्बुमा पुरिएको अवस्थामा लिच्छविकालीन ढुंगेधारा भेटियो

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका–१२ बलम्बुस्थित खोला र बाटोमा भेटिएको लिच्छविकालीन ढुंगेधारा संरक्षणको पर्खाइमा रहेको छ ।

सम्पदा संरक्षण अभियन्ता यादवलाल कायस्थले करिब १५ दिनअघि खोलामा दुई र खोलानजिकैको बाटोमा एउटा ढुंगेधारा पत्ता लगाएका थिए ।

स्थानीयले बाटोमा ढुंगेधारा पुरिएको देखेपछि कायस्थलगायका केही अभियन्ता उक्त ढुंगेधारा खोजीमा हिँडेका थिए ।

‘पुरिएको ढुंगेधारा भेटेपछि थप ढुंगेधारा हुनसक्ने अनुमान गर्दै खोलातिर लागेका थियौं त्यहाँ दुईवटा फेला पार्यौं’- अभियन्ता कायस्थले भने । उनका अनुसार खोलामा फालिरहेको अवस्थामा दुईवटा ढुंगेधारा फेला पार्दा आफू अचम्मित भएको बताए । उपत्यकामा पुरिएको ढुंगेधाराका खोजीमा सक्रिय कायस्थले ती तीनैवटा ढुंगेधाराको संरक्षण गर्नुपर्ने बताए ।

बलम्बु लिच्छविकालीन बस्ती हो । सो बस्तीमा लिच्छविकालमा बनेका ढुंगेधारा फेला परेका हुन् । कायस्थका अनुसार अझै यस्ता पुरातात्विक वस्तु फेला पर्न सक्ने दाबी छ ।

ढुंगेधारा भेटिएको विषयमा जानकारी दिँदै चन्द्रागिरि नगरपालिका वडा नं-१२ का अध्यक्ष न्हुच्छेबहादुर महर्जनले सबै ढुंगेधाराहरू संरक्षण गरिने जानकारी दिए । पुरिएको अवस्थामा ढुंगेधारा भेटिएको साँचो हो । तर, कहिले बनेको र कहाँ थियो भन्ने बारेमा जानकारी नभएको वडाध्यक्ष महर्जनको भनाइ छ ।

‘यस विषयमा अनुसन्धान गर्दैछौं, वडाको सम्पदा र बाजा संरक्षण गर्ने द्वारेबासँग छलफल गरेर कहाँ स्थापना गर्ने भन्ने विषयमा टुंगो लगाउनेछौं’ –अध्यक्ष महार्जनले भने ।उनले ढुंगेधारा पत्ता लगाउने अभियन्तालाई धन्यवाद दिँदै अब कसरी संरक्षण गर्ने भन्ने विषयमा छलफल भइरहेको जानकारी दिए ।

पूर्वमन्त्री एवं काठमाडौं क्षेत्र नं. ९ का सांसद कृष्णगोपाल श्रेष्ठले ढुंगेधारा उत्खनन गरी पत्ता लगाउने अभियन्ता कायस्थलाई धन्यवाद दिँदै अब यसको संरक्षण गर्ने काम नगरपालिका र वडाको भएको बताए । सांसद् श्रेष्ठले भने- ‘मैले पनि यस विषयमा अध्ययन गरिरहेको छु, कहाँ थियो, कस्तो अवस्थामा थियो र अब के कसरी संरक्षण गर्ने भन्ने विषयमा छलफल थाल्नेछौं ।’

उनले परम्परालाई जोगाउँदै आधुनिकतामा यस्ता ढुंगेधाराको पहिचान दिनेगरी संरक्षणको काम अघि बढाइने जानकारी दिए ।

सोही क्षेत्रका सांसदसमेत रहेका श्रेष्ठले एतिहासिक ढुंगेधारा उत्खनन गर्न मुख्य भूमिका खेल्ने सम्पदा अभियन्ता कायस्थले सो क्षेत्रमा गरेको उत्खनन बलम्बुबासीका लागि ऐतिहासिक रहेको उल्लेख गरे ।

पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले बलम्बुमा ऐतिहासिक ढुंगेधारा फेला पारेको जानकारी भएको बताउँदै ती धाराको ऐतिहासिक पक्षबारे जानकारी लिने तयारी भइरहेको बताए ।उनले सो क्षेत्रमा थुप्रै ऐतिहासिक ढुंगेधारा रहेको जानकारी दिए । – ‘अभियन्ताले फेला पारेका सबै ढुंगेधाराको उचित संरक्षण र व्यवस्थापन गर्नेछौं ।’- उनले भने ।

लिच्छविकालीन भनिएको छ, हो कि होइन अनुसन्धानले बताउनेछ । उनले ढुंगेधारा संरक्षण गर्ने विषयमा पुरातत्व विभाग सकारात्मक रहेको बताए । बलम्बुमा फेला परेका ती ढुंगेधारा कहाँ थिए र कसरी खोलामा भेटियो भन्ने विषयमा अध्ययन गरिने महानिर्देशक प्रधानाङ्ग भनाइ थियो ।

नेपाल समाचारपत्रबाट ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *