थाहा नगरमा अक्सिजन जेनेरेटर प्लान्ट खरिदमा भ्रष्टाचार, चन्द्रागिरिका पुरीसहित ६ जनाविरुद्ध मुद्दा
थानकोट ।
अक्सिजन जेनेरेटर प्लान्ट खरिदमा मकवानपुरको थाहा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीसहित ६ जना र कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरू विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
अख्तियारले जिल्ला मकवानपुर, थाहा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीसमेत ६ जना र ट्रेडर्स प्रा.लि.उपर गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको छ।
तत्कालीन प्रमुख पुरीसहित लेखा अधिकृत हरिबहादुर खपाङ्गी मगर, इन्जिनियरिङ सन्तोष बोहरा र सहायक पाँचौ सुदर्शन पहेली, प्रदेश स्वास्थ्य व्यवस्थापन केन्द्रका तत्कालीन बायोमेडिकल इन्जिनियर राजेश्वर कमलीलाई अख्तियार उक्त भ्रष्टाचार मुद्दामा प्रतिवादी बनाएको छ।
अक्सिजन जेनेरेटर प्लान्ट आपूर्तिको ठेक्का हत्याउने सुभारम्भ सर्भिस ट्रेडर्स प्रालि र उक्त कम्पनीकी सञ्चालक सोबिता प्रसाईलाई पनि प्रतिवादी कायम गरिएको हो।
अख्तियारले अक्सिजन जेनेरेटर प्लान्ट खरिदमा १ करोड १० लाख बढी बिगो कायम गरेको छ।
जनही १२ लाख रुपैयाँ असुल उपर हुने बिगो मागदाबी लिएको हो।
थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी, नगरपालिकाका बायोमेडिकल इन्जिनियर राजेश्वर कमाली र सुभारम्भका मालिक सोबिता प्रसाईको मिलेमतोमा १३ लाख बढी मूल्यको अक्सिजन प्लान्ट खरिदको ठेक्कामा सेटिङ गरेको तथ्यलाई अख्तियारले पुष्टि गरेको छ।
पुरी ५ वर्षसम्म लगातार थाहा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर काम गरेका थिए।














